तिनाउ नदीले पार गर्‍यो खतराको तह, सैनामैनाको भड्छा गाउँ डुबानमा

बुटवल, मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ।

बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको जलसतह निकै माथि पुगेको हो।

जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान सवा ६ बजे तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र त्यो बढ्दो क्रममा रहेकोले सचेत रहन भनिएको छ।

दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण नदी आसपास तथा होचा स्थानमा डुबानको समस्या भएको छ।

अविरल वर्षाका कारण सैनामैनाको भड्छा गाउँ डुबानमा परेको छ। इङगुरीया खोलामा आएको बाढीले सैनामैना ८ भड्छा निवासी शंखमुनी थारूको घर डुवानमा परेको हो।

घर गोठ डुबानमा परेपछि थारूको परिवार र ५ वटा बाख्रा चौपायालाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्धार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए।

रूपन्देही, नवलपरासी, पाल्पा, प्युठान लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भएको छ। भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। वर्षाका कारण नवलपरासीको विनयी लगायत साना खोलाहरूको बहाव बढेको छ।

यता वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा सडक अवरूद्ध भएका छन्। बुटवल–पाल्पा, गोरूसिंगे-सन्धिखर्क, राम्दी–रामपुर र भालुबाङ–प्युठान सडक पहिरो खसेका कारण अवरूद्ध भएका छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि अवरूद्ध बनेको छ।

यस्तै पाल्पाकै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी–रामपुर सडक अवरुद्ध भएको छ।

अर्घाखाँचीको शीतगंगा १२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पनि पहिरो खसेको छ। पहिरोका कारण गोरूसिंगे–सन्धिखर्क सडक अवरूद्ध भएको छ।

पहिरोका कारण प्युठानको माण्डवी १ गर्जेनीमा पनि सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ९ ठाउँमा भारी वर्षा भइरहेको बताएको छ।

महाशाखाले चितवन, दाङ, नवलपुर, पाल्पा आदि जिल्लाका ९ स्थानमा भारी वर्षा मापन भएको बताउँदै तटीय क्षेत्रमा सतर्क रहन भनेको हो।

महाशाखाले जानकारी दिएअनुसार चितवनको नारायणी, देवघाट क्षेत्रमा पछिल्लो ३ घन्टामा ५२.२ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ११९.४ मिलिमिटर वर्षा मापन भएको छ।

दाङको सुखबारेमा पछिल्लो २४ घन्टामा ११० मिलिमिट वर्षा भएको छ।

त्यस्तै, दाङको गङगढीमा पछिल्लो ३ घन्टामा ३२.८, ६ घन्टामा ११३.८ र २४ घन्टामा ११८.८ मिलिमिटर वर्षा मापन भएको छ।

नवलपुरको डन्डाबजार आसपास पछिल्लो ६ घन्टामा १०९.८ र २४ घन्टामा ११४ मिलिमिटर वर्षा भएको छ। नवलपुरकै देउरालीमा पछिल्लो २४ घन्टामा १५७ मिलिमिटर वर्षा भएको छ।

पाल्पाको बल्याङगडी क्षेत्रमा पछिल्लो २४ घन्टामा २६६.६ मिलिमिटर वर्षा भएको छ। पाल्पाकै तानसेन क्षेत्रमा पछिल्लो ३ घन्टामा २६.८, ६ घन्टामा १०० मिलिमिटर र २४ घन्टामा १०३.८ मिलिमिटर वर्षा मापन भएको छ।

चितवनको भरतपुर विमानस्थल आसपास क्षेत्रमा पछिल्लो २४ घन्टामा १५७.४ मिलिमिटर वर्षा मापन भएको छ।

चितवनकै रामपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा १४३.६ मिलिमिटर वर्षा मापन गरिएकाले खोला, नदी तटीय क्षेत्रमा बाढीको अनुमान गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।