लोप हुँदै फापर र जुनेलो खेती

गलेश्वर, १० साउन (रासस) : म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो ।

खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध खानाका रुपमा प्रयोग गर्ने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनाका कारण पत्ता लगाई किसानाई खेती गर्न उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

विगतमा जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका गाउँमा व्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो र कोदो हिजोआज खेती हुन छाडेकाले हराउँदै गएको स्थानीय किसान बताउँछन् ।

दश वर्षअघिसम्म वर्षमा आठ मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको मालिका गाउँपालिका–२ रुमका किसान डेकबहादुर विकले बताउनुभयो । “केही वर्षअघिसम्म म रुममा सबैभन्दा धेरै जुनेलो उत्पादन गर्ने किसानको रुपमा परिचित थिएँ”, उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षयता यहाँका अरू किसानले पनि बिस्तारै यो खेती छाड्दै गएँ । दुई वर्षयतादेखि मैले पनि जुनेलो लगाउन पूर्णरुपमा छोडेको छु ।”

जुनेलो र फापर खेती लोप हुँदै जानुको प्रमुख कारण गाउँका युवा शक्ति शिक्षा र रोजगारीका लागि पलायन भएर अन्यत्र जानु, गाउँमा श्रम गर्ने शक्तिको खाँचो हुनु, युवा वर्ग यस खेतीमा आकर्षित नहुनु, कतिपय किसानले परम्परागत खेती गर्न छाड्दै जानुलगायत रहेको विकले बताउनुभयो ।

“केही वर्षअघिसम्म गाउँमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन हुन्थ्यो । अहिले जुनेलो खेती किसानले गर्न छाडेको छन्”, किसान चन्द्रबहादुर कार्कीले भन्नुभयो । गाउँमा एक किसानले पाँच–सात मुरीसम्म जुनेलो उत्पादन गर्नुका साथै दुई–चार मुरी फापर उत्पादन गरेर वार्षिक रू २० हजारभन्दा बढी आम्दानी लिने गरेका उहाँले जानकारी दिनुभयो ।

“विगतमा पम्परागत खेतीको प्रचलन थियो । काम गर्ने मजदुर प्रशस्त हुन्थे । गाउँघरका पाखाबारीमा फापर, जुनेलो, कोदोलगायत अन्न उत्पादन हुने गरेको थियो”, कार्कीले भन्नुभयो, “अहिले परम्परागत खेती हराउन थाल्यो । गाउँमा काम गर्ने मान्छे पनि पाउन छाड्यो । परम्परागत खेती विस्तारै सबैले छोड्दै गएँ ।”

गाउँघरमा सडक सञ्जाल विस्तार भएपछि तराईमा उत्पादन भएका चामल सहजै गाउँमा आउन थालेकाले गाउँमा परम्परागत खेती गर्नेको सङ्ख्या घट्न थालेको कृषक हरिकृष्ण पौडेलले बताउनुभयो । कोदो, फापरको ठाउँमा धान, मकै लगाउनाले पनि फापर खेती लोप हुँदै गएको उहाँको भनाइ थियो ।

युवा पुस्ता फापर, जुनेलो खेतीतर्फ आकर्षित हुन नसक्दा परम्परागत खेती लोप हुँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । “बूढापाका बूढा हुँदै गए, हिजोआजका युवाले यो झन्झटिलो खेती गर्नै चाहँदैनन्”, उहाँले भन्नुभयो, “गाउँघरमा बाहिरबाट खाद्यन्न आउन थाल्यो । गाउँमा खेती गर्नेको सङ्ख्या कमी हुँदै गएकाले पनि जुनेलो, फापर जस्ता परम्परागत अन्नबाली लोप हुन थालेका हुन् ।”

पूर्वाधारको विकासका कारण गाउँगाउँमा सडक सञ्जाल विस्तार हुनु, गाउँका अधिकांश युवा शिक्षा, रोजगारी लगायतका लागि सहर पस्नु तथा विदेश पलायन हुनु र गाउँघरमा बूढापाकामात्र रहनुले पनि जुनेलो तथा फापर खेती लोप हुँदै गएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । गाउँमा उत्पादन हुन छाडेपछि अन्यत्रबाट अन्न ल्याएर खानु परेको उहाँको भनाइ थियो ।

कुनै समय हाराभरा देखिने ग्रामीण क्षेत्रमा पछिल्लो समय बाली नलगाउँदा उजाड देखिन थालेको भन्दै यहाँको उर्वर जमिनको उपयोग गरी उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले ठोस योजना ल्याएर किसानलाई प्रोत्साहित गर्नुपर्ने किसानको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।