सुन तस्करी प्रकरणमा नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेको गोदाममा छापा मारेको छ । सोक्रममा विभागले तस्करीको सामान राख्ने गोदामका लागि कोठा खोजिदिएको भन्दै नुवाकोटका सुरेन्द्र तामाङलाइ पक्राउ गरेको छ ।
बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेर एक गाडी ब्रेक सु बरामद गरेको छ । त्यसमा पनि सुन रहेको आशंका गरिएको छ । योसहित सुन प्रकरणमा चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १८ जना पक्राउ परेका छन् । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलिप भुजेलसहित प्रहरी हिरासतमै रहेका छन ।
सुनकाण्डमा जिम्मेवार भन्दै पार्टिकै सांसदले मागे राजिनामा, सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन्। सांसद सुनिल शर्माले प्रतिनिधि सभाको बुधबारको बैठकमा सुन प्रकरणमा अर्थमन्त्री महतको राजीनामा मागेका हुन्।
‘अर्थमन्त्रीले तस्करी थाहा थिएन भन्न पाईंदैन। उहाँले पदमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो,’ उनले भने। सांसद शर्माले यस्ता प्रकरणमा अरु देशमा नैतिकता आधारमा मन्त्रीले राजीनामा दिएको उदाहरण सुनाएका थिए।


