झापा सहित आसपासका ठाउँमा अत्यधिक वर्षा, होचा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ । केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने स–साना खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
डुबान भैरहने होचा ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ । कास्कीको जुम्लेटी–पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ तथा पर्वत आसपास भएर बग्ने खोलामा आकस्मिक बहावको जोखिम रहेको छ ।
कुस्मा–पोखरा सडक खण्ड, घान्द्रुक र आसपासमा पहिरोको जोखिम छ । कमजोर भिरालो जमिन भएका ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज देशभरकै मौसम सामान्य बदली रहने अनुमान छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान छ ।


