भोजपुरका किसानको मुख्य समस्या नै बाँदर

भोजपुर, १५ साउन (रासस) ः भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।

मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।

बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ÷दश वर्षमा धेरै बस्ती खाली हुने उहाँको भनाइ छ । “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ”, स्थानीयजासी प्रधानले भन्नुभयो, “बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।”

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उहाँले भन्नुभयो, “एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिन भरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।”

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताउनुभयो ।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । “बाँदरको कारण बस्ती नै खाली भएको छ”, उहाँले भन्नुभयो, “वर्षभरि खानको लागि लगाएको अन्नबाली छिन भरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हँुदैन ।”

दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताउनुभयो । बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।

“बाँदरले हामीलाई अतिनै समस्यामा पारेको छ”, उहाँले भन्नुभयो, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहँु छरेको हो । अन्नबाली जोगाउन अतिनै समस्या छ ।” बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नको लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाड्ेको भोजपुर नगरपालिका–५ का स्थानीय कमला थापाले बताउनुभयो ।

“बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे”, उहाँले भन्नुभयो, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।” बाँदर आतङ्का कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । यहाँका २० भन्दा बढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।”

बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो । बाँदर समस्या अन्त्यको लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

“धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्बर भूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।