सहिद मनोज जोशी प्रतिभा पुरस्कार शिक्षक राईलाई

खोटाङ, १५ साउन (रासस) : ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार-२०८०’ शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जालपा माध्यमिक विद्यालय नुनथलामा कार्यरत शिक्षक राईलाई रु १० हजार राशीको ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार–२०८०’ पुरस्कार प्रदान गरिएको हो ।

सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यसवर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला स्थायी घर भएका शिक्षक राईलाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।

सहिद मनोज जोशीको ३२औँ स्मृति दिवसको अवसरमा सोमबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ले शिक्षक राईलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन जिल्ला विकास समितिको अस्थायी मुखिया पदमा कार्यरत शिक्षक राई विसं २०४८ को कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । शिक्षक राई सहिद जोशीसँगै इन्द्रेणी सांस्कृतिक समाज खोटाङमा पनि आबद्ध हुनुहुन्थ्यो ।

भोजपुर घर भइ हाल दिक्तेलको भवनगैरामा बसिरहेका पक्षघात पीडित शान्ताराज शाक्यलाई राहत स्वरुप रु छ हजार बराबरको चामल, दाल, नुन, तेल प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष आचार्यले बताउनुभयो ।

सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन–१३ गते सहिद मनोजमार्ग सरसफाइ एवम् साउन–१४ गते रक्तदान र जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

विसं २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिएको बिरोधमा कर्मचारीहरुको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा ऐक्यबद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवं नेकपा (माओवादी केन्द्र) खोटाङका नेता सुमन श्रेष्ठले बताउँदै आउनुभएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाएका जोशीलाई सरकारले २०७४ माघ–२२ गते सहिद घोषणा गरेको थियो ।

कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले मनोज–झपेन्द्र स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।

दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा जोशीको वि.सं. २०३० असोज–२३ गते जन्म भएको थियो । वास्तविक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी सांस्कृतिक समाज तथा अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।