बढ्यो चामलको भाउ
काठमाडौं, साउन १५ । नेपालमा चामलको मूल्य बढेको छ । जिरा मसिनो र सोना मन्सुली चामल बोरामा एकसय रूपैयाँसम्म बढेको छ ।
खुद्रा व्यवसायीहरुका अनुसार भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य बढेको हो। १० दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्य वृद्धि कम गर्न बासमतीबाहेकका अरू चामल निर्यातमा रोक लगाएको थियो।
भारतले निर्यात प्रतिबन्ध गर्नुअघि प्रतिबोरा दुई हजारदेखि दुई हजार ५० रूपैयाँमा बिक्री भएको चामल अहिले दुई हजार एक सयदेखि दुई हजार एक सय ५० रूपैयाँसम्म पुगेको छ।
भारतबाट आउने धानको मूल्य बढेको कारण चामलको मूल्य वृद्धि भएको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । उनका अनुसार भारतबाट ६÷७ महिनादेखि नै चामल निर्यात भएको छैन।


