पर्यटक तान्दै रिघा उदय बुद्धविहार

ढोरपाटन, १७ साउन (रासस): वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो । विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरविर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ । मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्धविहार नजिकै रिघा गाउँ छ । मौलिक गाउँका रुपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्धविहारका कारण दैनिक घुम्न आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको हो ।

उक्त गाउँ र बुद्धविहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ । कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ । प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताउनुभयो ।

विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नुपर्ने बताउनुभयो ।“रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा प¥यो, अहिले केही परिर्वतन हुन थालेको छ, प्रचार हुन थालेको छ, त्यही भएर पनि होला मान्छेहरु पनि आउन थालेका छन्,” उहाँले भन्नुभयो, “धार्मिक आस्था राख्नेहरू पनि प्रवचन सुन्न आउने गर्छन् भने, अरुहरू फोटो तथा भिडियो खिचेर जान्छन्, पहिले खासै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरैजसो बुद्धविहारसम्म जान्छन् ।”

बुद्धविहार स्थानीयवासीको जनश्रमदानसहित करिब एक करोडको लागतमा निर्माण भएको हो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरिँदै आइएको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो ।

केही समय अगाडिसम्म गुमनामजस्तै रहेको यस क्षेत्रबारे अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रझै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँको भनाइ थियो। अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगँैचा र पोखरी निर्माण गरिने र वरपरका क्षेत्रलाई पिकनिक स्पटका रुपमा विकास गरिने वडाध्यक्ष श्रीसले उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट रु १५ लाख विनियोजन भएकाले यसबाट विहारको तला थपिने र बगैँचा पनि निर्माण गरिने उहाँले जानकारी गराउनुभयो ।

हाल यस क्षेत्रमा वृक्षरोपण भइरहेको छ । राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशीका साथै धार्मिक पर्यटक पनि आउने सम्भावना रहेको छ । अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका छन् । लोकमार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने वडाध्यक्ष श्रीसले बताउनुभयो । “रिघा गाउँ र बुद्धविहारलाई जोडेर ‘पयटकीय हब’ का रुपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,” उहाँले भन्नुभयो, “यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।