थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

– जमुना वर्षा शर्मा
पोखरा, १७ साउन (रासस) : पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ ।

धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित रु १० करोडबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको महेन्द्र गुफा र चमेरे गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छन् । बहत्तर वर्ष लामो इतिहास बोकेको यस गुफामा पर्यटकलाई थप आकर्षित गर्न तयार गरिएको गुरुयोजनाअन्तर्गत गन्धर्व सङ्ग्रहालय, ढुङ्गे धारा, म्युजियम, स्कप्चर, अडिटोरियम हल, बगैँचा, गजेवो, एम्पीथियटर, वाटर फाउन्टेन, पारागोलालगायतका संरचना निर्माणकार्य भइरहेका छन् ।

विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र तत्पश्चात गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । त्यसअघि यसको नाम अँधेरी भुवन भनेर चिनिन्थ्यो । महेन्द्र गुफाबाट पाँच सय मिटरको दूरीमा चमेरे गुफा पर्छ । गुफाभित्र पसेपछि चट्टानभरि झुन्डिएका चमेराका लोभलाग्दा दृश्य देख्न सकिन्छ । यस गुफामा चमेराहरू भएकाले यसको नाम चमेरे गुफा रहन गएको मानिन्छ । दुई सय मिटर लामो रहेको चमेरे गुफामा ‘एडभेन्चर क्लाइमिङ’ गरेर पनि बाहिर निस्कन सकिने र विश्वका दुर्लभ पाँच प्रजातिका चमेरा पनि पाइने भएकाले यसको थप महत्व रहेको पौडेलको भनाइ छ ।

गुफा हेर्नका लागि विद्यार्थीलाई रु तीस र अन्य आन्तरिक पर्यटकलाई रु ५० शुल्क राखिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि रु ८० र अन्य विदेशी पर्यटकका लागि रु एक सय ५० शुल्क तोकिएको छ । आर्थिक वर्ष २०७९÷८० मा यस गुफाबाट करिब रु एक करोड ७० लाख आम्दानी भएको पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय गुफा हेर्न जाने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको छ ।

महेन्द्र गुफाको लम्बाइ एक सय २५ मिटर छ । विसं १९९० को भूकम्पअघि गुफाभित्रबाट कालिखोलासम्म निस्केको अनुभव अग्रजहरूले सुनाउने गरेको महेन्द्र गुफाका पुजारी श्रीराम अधिकारी बताउनुहुन्छ । गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ । गुफाको अन्तिम विन्दुमा जलविनायकको आकृति र त्योसँगै जलकुण्ड छ । जलकुण्ड कहाँबाट कसरी निर्माण भयो भन्ने विषय रहस्यमय रहेको पुजारी बताउनुहुन्छ ।

गुुफाको संरक्षक संस्थाको रूपमा विन्ध्यवासिनी मावि रहेको छ । यो सामुदायिक विद्यालय नमूना विद्यालय हो । चमेरे गुफा विन्ध्यवासिनीकै स्वामित्वमा रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले महेन्द्रगुफा चमेरे गुफालाई उत्कृष्ट गन्तव्य बनाउन करिब रु २४ करोडको गुरुयोजना तयार गरेको जानकारी दिनुभयो । “हामीले बृहत् योजना तयार गरेर प्रदेश सरकारसमक्ष बुझाएका छौँ । पहिलो चरणमा रु १० करोड विनियोजित भएर केही काम हुँदैछ । आगामी दिनमा थप सौन्दर्यकरणका लागि हाम्रो पहल निरन्तर हुनेछ ।” गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफूहरूले सहयोग गरेको उहाँको भनाइ छ ।

परियोजना सम्पन्न भएपश्चात वडा नं १६ स्थित महेन्द्र गुफा र चमेरे गुफा पोखराका उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नका लागि थप प्रचार–प्रसार गरिने वडाध्यक्ष अमृत शर्मा तिमिल्सनाले जानकारी दिनुभयो । “वडा नं १६ मा क्रेजी गुफा, कुमारी गुफा, गौतमबुद्ध गुफा पनि रहेकाले गुफा कनेक्टिङ रोड बनाउने प्याकेजको कार्यक्रम तय गरिएको छ”, तिमिल्सनाले भन्नुभयो ।

उहाँले कुमारी गुफाका लागि पर्यटन मन्त्रालयबाट रु २० लाख विनियोजन भएर केही पूर्वाधारका काम सम्पन्न भएको र आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित रकमबाट निर्माणकार्य अगाडि बढेको महेन्द्र चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ५५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

निर्माणकार्यको जिम्मा पाएको कम्पनीका आयोजना प्रमुख राकेश श्रेष्ठ गत असोज १ देखि आगामी भदौ १९ गते सम्पन्न गर्ने सम्झौता भए पनि सुरुआतमा केही प्राविधिक समस्या उत्पन्न भएकाले समयमै निर्माणकार्य सम्पन्न गर्न नसकेको जानकारी दिनुभयो ।

महेन्द्रगुफा चमेरे गुफालगायतका गुफासँगै पोखरा–१७ मा रहेको गुप्तेश्वर गुफाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । योसँगै भलाममा पनि हरिहर सन्यासी गुफा रहेको छ । हरिहर सन्यासी गुफामा विशेषगरी बालाचतुर्थीका अवसरमा सतबिज छर्नका लागि भक्तजन जाने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।