पूर्व वडाध्यक्षको कृषिकर्म

– खेमराज गौतम
गलकोट, १७ साउन (रासस) : बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहरको सुसार गर्दै हुनुहुन्छ । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थाल्नुभएका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी खेतीमा लाग्नुभएको मात्रै छैन आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उहाँको ठूलो हातसमेत छ ।

विसं २०६८ मै दुई सय सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती थाल्नुभएका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गालीसमेत गरे । अहिले वर्षमा सुन्तला खेतीबाटै झन्डै रु तीन लाख कमाइ भएर धान खेतीभन्दा तेब्बर नाफा भएपछि परिवारका व्यक्तिसमेत बुढाथोकीको कृषि कर्मलाई सघाउनेतर्फ लाग्नुभयो ।

गलकोटकै बढी व्यावसायिक कृषक रहेको दुदिलाभाटीमा किसानलाई व्यावसायिक बनाउन थाल्नुभएका बुढाथोकीले किसानकै मनमा बसेको र जनतामा परिचित भइसकेको पत्तै पाउनु भएन । फलस्वरुप २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट–१ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

“विसं २०६८ मा कृषि विकास कार्यालयमार्फत रु १५ का दरले दुई सय सुन्तलाका बिरुवा पाँच रोपनी धान फल्ने खेतमा लगाएको थिएँ, ५० बिरुवा मरे, अहिले एक सय ५० बिरुवाले उत्पादन दिइराखेका छन्, गत वर्षमात्रै सुन्तला बिक्री गरेर रु तीन लाख कमाएको थिएँ”, बुढाथोकीले भन्नुभयो, “सुन्तलासँगै व्यावसायिक तरकारी र अलैँची खेतीको सम्भावना देखेर स्थानीयलाई व्यावसायिक उत्पादनमा लगाउन थालेपछि जनतासँग नजिक भइयो, २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि नगरपालिका र वडाको बजेट समेत कृषिमा केन्द्रित गरँे, अहिले यस वडामा आलु पकेट, बाख्रा पकेट, अलैँची ब्लक र किबी पकेटका कार्यक्रम सञ्चालित छन् ।”

बुढाथोकीले सुन्तलाको आम्दानी बढे पनि अलैँची, तरकारी र बङ्गुरपालन नयाँ भएकाले लगानीमै रहेको जानकारी दिनुभयो । सुसङ्गम फलफूल तथा पशुपालन केन्द्र नामको फार्म दर्ता गर्नुभएका बुढाथोकीले पाँँच रोपनी धान खेतमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस्तै उहाँ घुसुवा बालीका रूपमा सोही क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको हो ।

“सुरुमा सुन्तलाका बिरुवा लिएर रोप्न खोज्दा बुवाले दिनुभएन, अनि मकै लगाएर बीचमा सुन्तला लगाएँ”, उहाँले भन्नुभयो, “धान खेतको लगानीबाट भन्दा सुन्तला खेतीबाट तेब्बर कमाउन सकिन्छ, मेरो परिवारले मात्रै होइन सबै किसानले बुझिसकेका छन्, अहिले बागलुङमा ठूलो आम्दानीको रूपमा सुन्तला खेती छ ।”

गत वर्ष २८ क्विन्टल सुन्तला रु एक सयभन्दा माथिल्लो भाउमा घरबाटै बिक्री गरेको बुढाथोकीको भनाइ छ । आफ्नै वडाध्यक्षको कार्यकालमा वडामा अलैँची ब्लक क्षेत्र कार्यक्रम स्थापना भएपछि आफूसमेत पुनः अलैँची खेतीमा लागेको उहाँको भनाइ छ । अहिले दुदिलाभाटीमै अलैँची बिक्रीबाट एकै किसानले वर्षमा रु पाँचदेखि सात लाखसम्मको आम्दानी गरिरहेको बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले कृषि ज्ञान केन्द्रको सहयोगमा रु चार लाख लागतमा एउटा हाइटेक टनेल स्थापना गरेर व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । कृषिमा प्राप्त सफलतापछि बुढाथोकीले पशुपालनमा आकर्षित भएर रु १० लाख लगानीमा तीन वर्षदेखि बङ्गुर फार्मसमेत सञ्चालनमा ल्याउनुभएको छ ।

बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् । रु चार सय प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । तीन माउ राखेर सुरु गरेको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गएको र रु १० लाख लगानी केही वर्षमै उठ्ने उहाँको विश्वास छ । विसं २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष हुनुभन्दा पहिलासमेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उहाँको भनाइ छ ।

आफ्नो वडाध्यक्षको कार्यकालमा कृषिमा बजेट बढाउने, कृषि भ्रमण गराउने, वडामा किबी पकेट कार्यक्रम लागू गर्नेलगायतका काम गरेको उहाँको भनाइ छ । अहिले दुदिलाभाटीमा किबीको मात्रै पाँच हजार बिरुवा लगाइएको जानकारी दिनुभयो । कृषि र पशुपालनबाट बचत भएको समयमा बुढाथोकी सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आउनुभएको छ । पूर्ववडाध्यक्ष रहनुभएका बुढाथोकी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्य हुनुहुन्छ । राजनीति र जनप्रतिनिधि भनेको पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उहाँको भनाइ छ ।

“अहिले जनप्रतिनिधलाई जागिरका रूपमा लिने प्रचलन छ, त्यस्तो होइन, जनप्रतिनिधि हुनुभन्दा पहिला किसान थिएँ, अहिले पनि किसान छु, जनप्रतिनिधि भएर अरुलाई यो गर त्यो गरभन्दा आफूले पनि त केही गरेर देखाउनपर्यो”, उहाँले भन्नुभयो । बुढाथोकीको घर फार्म नजिकै कृषि निर्देशनालयको रु १० लाखको लागतमा कृषि उपज सङ्कलन केन्द्रसमेत निर्माण गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।