अब चिया बगान हेर्न इलाम जानुपर्दैन

–खेमराज गौतम
गलकोट । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।

वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक–टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।

“मुख्यमैत्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उनले भने, “यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।”

वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताए । उनका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ ।

रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिए । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उनले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिए ।

बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए ।

“क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन–अवलोकन गराउन रेशको चिया बगान पुर्‍याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानु पर्दैन्”, उनले भने, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा. थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यतालगायत व्यवहारले लोभ्याउने बताए ।

चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताए । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उनले जोड दिए । “हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भने, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।”

पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए ।

विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानध्यापक थम्मन जिसीले बताए । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो ।

समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि वयवसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । यस कार्यले अहिले सफलता पाइरहेको उनको भनाइ थियो ।

बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।