गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण (कास्की), १९ साउन (रासस) :कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ । उहाँ मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउनुहुन्छ । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा हुनुहुन्छ ।

आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उहाँले सम्झनुभयो । “पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ”, देउकुमारीले भन्नुभयो, “हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।”

सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गर्नुभएको छ । परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उहाँले बताउनुभयो । “गाउँमा जग्गा÷जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ”, अधिकारीले भन्नुभयो, “प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।”

परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गथ्र्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उहाँको भनाइ थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उहाँले बताउनुभयो ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उहाँले बताउनुभयो । यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उहाँको भनाइ थियो ।

“हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ”, अधिकारीले भन्नुभयो, “पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।” अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उहाँले सुनाउनुभयो ।

पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताउनुभयो । उहाँले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताउनुभयो । “हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।