लम्पी स्किन रोगको महामारी : खोटाङमा सात सय ३६ गाई/गोरु मरे, चार सय ३१ वटा प्रभावित

खोटाङ, २० साउन (रासस) : देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाई/गोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो ।

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा गाई/गोरुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिनुभएको छ ।

पछिल्लो एक हप्ताको अवधिमा १४ वटा भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटाको मृत्यु भएको जनाइएको छ । पशु विशेषज्ञहरुका अनुसार गाई/गोरुमा एक सय पाँच डिग्रीसम्मको ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोकाहरु आउनु, मुखबाट -याल काढ्नु, सिगाँन बग्नु, दुई/चार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरु हुन् ।

मुख्यगरी खेतबारी जोत्न र प्राङ्गारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाई/गोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको आरोप छ । महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ । लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको थियो । देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा साकेला र रावाबेँसी गाउँपालिकाले मात्रै मन्त्रालयले उपलब्ध गराएको उक्त निकाल्न सफल भएको पाइएको छ । असार २५ गतेदेखि देशभर एकैसाथ आर्थिक बारोबारसम्बन्धी सर्भर बन्द भएका कारण जिल्लाका अन्य स्थानीय तहले उक्त रकम निकासा गर्न नपाएको जनाइएको छ ।

लम्पी स्किन रोगको महामारीले गाई/गोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानहरुले बताएका छन् । खेत तथा बारी जोत्ने प्रविधि (हाते ट्र्याक्टर) कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन् ।

लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकहरुले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ । लम्पी स्किन रोग पीडित कृषकका लागि निःशुल्क वितरण गर्न पठाइएको औषधि प्राविधिकहरुले शुल्क लिएर बिक्री गर्ने गरेका बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको पशु शाखाप्रमुखहरुले बताएका छन् ।

नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ । नेपालमा बीमा समितिबाट विसं २०६९ माघ १ गतेदेखि औपचारिक रुपमा बाली तथा पशुुपन्छी बीमा निर्देशिका, २०६९ जारी भई बाली तथा पशुपन्छी बीमाको सुरुआत भए पनि जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन ।

विसं २०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपन्छी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । नेपाल सरकारले लागू गरेको पशुपन्छी बीमा कार्यक्रम पाउनुभन्दा धाउनु बढी भएकाले जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको कृषकले बताउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।