गर्भपतन गराउन खोज्दा महिलाको मृत्यु, २७ लाख ५० हजारमा सहमति
चितवन । चितवनको मनकामना अस्पतालमा गर्भपतन गराउन खोज्दा महिलाको मृत्यु भएको विषय लेनदेनमा टुंगिएको छ । भरतपुर महानगरपालिका–२६ कि नवीना चौधरीको गएराति अस्पतालमा मृत्यु भएको थियो ।
उनका श्रीमान मणिक महतोले एक भिडियो कुराकानीमा बताएअनुसार नवीना १६ हस्ताको गर्भवती हुनुहुन्थ्यो । बिहीबार ६ बजे स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको थियो ।
परीक्षणपछि चिकित्सकले गर्भपतन गर्न सल्लाह दिएको मृतकका श्रीमान मणिकको भनाइ छ । चिकित्सकले कन्भिन्स गरेपछि आफूहरू तयार भएको उहाँले जानकारी दिनुभएको छ।
गर्भपतनका लागि औषधि चढाएपछि अवस्था बिग्रदै गएर शुक्रबार राति मृत्यु भएको थियो । राति १ बजेतिर मात्रै आफूले नवीनाको मृत्यु भएको थाहा पाएको मणिकले बताउनुभएको छ ।
अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्त, परिवारले शनिबार बिहानैदेखि अस्पतालमा प्रदर्शन गरेका थिए । अस्पतालको गेटमै ताला लगाएका थिए।
अस्पतालले महिलाको मृत्यु भएको खबर आफन्तलाई दिनेवित्तिकै प्रहरी बोलाएर अस्पतालमा तैनाथ गरेको मृतकका श्रीमान मणिकले जानकारी दिनुभयो । अस्पतालले लापरवाही गरेर नै नवीनाको ज्यान गएको उहाँको दावी छ ।
शनिबार दिनभरको छलफलपछि मृतकका परिवारलाई अस्पतालले २७ लाख ५० हजार दिने सहमति भएर कुरा मिलेको छ । गल्ती स्वीकार गरी अस्पतालले छोरीको लालन पालनका लागि उक्त रकम दिएको मृतकका आफन्तको भनाइ छ।
मृतक ३५ वर्षीया नवीनाकी ५ वर्षकी एक छोरी छिन् ।
१६ हप्ता पुगेको गर्भवतीको किन गर्भपतन गर्न लागेको भन्नेबारेमा भने केही खुलेको छैन । कानुन अनुसार गर्भवती महिलाको ज्यान जोखिममा रहेको अवस्था, बच्चा अपांग हुने अवस्था, हाडनाता करणी तथा बलात्कारको घटनाबाहेकमा १२ हप्ता भन्दा माथिको गर्भपतन गर्न पाइँदैन ।


