सालको पातले धानेको जीवन

–रुपनी जिएम
जानकी, २२ साउन (रासस) : केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिनुहुन्छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी खुटेर बेच्नका लागि हरेक बिहान ५ बजे नै उक्त चोकमा भेटिनुहुन्छ । उमेरले भर्खरै ३० लाग्नुभएका केवटलाई सालको पातबाट दुनाटपरी, बोहोता जस्ता सबै प्रकारका सामान बनाउन आउँछ ।

विगत पाँच वर्षदेखि सालको पातबाट हाते सामान सडकमै बसेर बनाउँदै र बिक्री गर्दै केवटको परिवारले घरको गुजारा चलाउँदै आएको छ । प्रत्येक बिहान पाँच बजे श्रीमतीलाई सघाउन सडकको एक छेऊमा सालको पातको टपरी बुन्दै र बेच्दै गर्ने केवटले दिउँसो फर्निचरको काम गरेर आय आर्जन गर्नुहुन्छ ।

“म बिहान श्रीमतीलाई पात खुट्नमा सघाउँछु । अनि दिउँसोमा फर्निचर पसलमा काम गर्ने गर्छु ।’ उहाँले भन्नुभयो, “उब्जनी गर्न जग्गा छैन, पेट पाल्नका लागि मजदूरी गर्नै पर्ने हुन्छ ।”

सालको पातले घर चलाउन सजिलो भएको केवट बताउनुहुन्छ । तीन सन्तानका अभिभावक केशव र उनकी श्रीमती सोनी सालको पात टिप्न झण्डै सोह्र किलोमिटर टाढाको सामुदायिक वनमा जानुुहुन्छ । वन हेरालुको आँखा छलेर सालको पात टिप्ने गरेको सोनीले बताउनुभयो । “आफ्नो वन छैन अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ । वन हेरालुले भेटाए भने जरिवाना तिर्नुपर्छ ।” उहाँले भन्नुभयो,“हामी धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौँ । जरिवानास्वरुप हामीले रु एक सयदेखि रु ५० सम्म तिर्ने गरेका छौँ ।”

एक बिहानमा एक बोरा सालको पातबाट रु आठ सय जति कमाइ हुने सोनीले बताउनुभयो । घरखर्च, छोराछोरीको पढाइखर्च, रोग लाग्दा उपचारखर्चदेखि पाहुनाको सबै खर्च यसैबाट चल्ने भएकाले यो कमाइले घर चलाउन गाह्रो भएको उहाँले बताउनुभयो । “दिनको आठ सय जति कमाइले सबै कुरा चलाउनु पर्दा बचत हुनै पाउँदैन ।” छोराछोरीको भविष्यका लागि थोरै भए पनि रकम बचत गरिदिने रहर सोनीको रहरमै सीमित भएको छ ।

सोनीसँगै उहाँका छिमेकी मखाना केवट र सोनारा केवटले पनि सालको पात बेचेरै घर चलाएको पाँच वर्षभन्दा बढी भएको छ । पैँतीस वर्षीया मखानाका छ सन्तान छन् । सोनाराका पाँच सन्तान छन् । उहाँहरु दुबै जनाको साँझ बिहानको छाक नै सालको पातबाट कमाइ भएको पैसाले टार्ने गर्दछ ।

घरदेखि जङ्गल आउँदा र जाँदा झण्डै १६÷१७ किलोमिटरको दुरीमा साइकल चलाएर आफै पात टिप्ने र बिहानै सडकको एक छेऊमा ग्राहले चाहे जस्तै दुनाटपरी खुटेर बेच्नु मखना र सोनाराको दैनिकी नै बनेको छ । केशव र उहाँकी श्रीमती सोनीको जस्तै । वर्षौंदेखि सालको पात बेचेरै गुजारा चलाउँदै आउनु भएका चारै जनाले टपरी हातैले बनाउनुहुन्छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–६ को खल्लाटपरीबाट बोरामा सालको पात भरेर दिन बिराएर बिहानै झिसमिसेमै नेपालगञ्जको त्रिभुवन चोकमा पात बेच्न आइपुग्नुहुन्छ कविता हमाल । रुकुमबाट बसाइँसराइ गरी खल्लाटपरीमा आउनुभएकी कविताले सालको पात बेच्न थालेको झण्डै सात वर्ष भएको छ ।

दिनको रु छ सय जति कमाइ हुने उल्लेख गर्दै कविताले आफ्नै मेहनतमा थोरै भए पनि पैसा जोहो गर्न पाएकामा खुसी लागेको बताउनुभयो । ‘सामान्य घरखर्च र मेरो आफ्नै खर्च मैले यही सालको पात बेचेरै जुटाएको हुन्छु ।” श्रीमान्ले भारतमा कमाएको पैसाको मुख वर्षमा एक पटक देख्न पाइने उल्लेख गर्दै उहाँले आफ्नो कमाइबाट जोहो टार्न पाएकामा आफुलाई स्वाबलम्बी महिला भन्न रुचाउनुहुन्छ कविता ।

कवितासँगै सोही ठाउँबाट सीता खड्का र रमा थापा पनि एकाबिहानै नेपालगञ्ज साइकलमा बोरामा बाँधिएको सालको पात लिएर बेच्नका लागि आइपुग्नुहुन्छ । रमाले सालको पात बेच्न सुरु गरेको सात महिना मात्रै भएको छ भने सीताले तीन वर्ष भएको छ ।

घर नजिकैको सामुदायिक वनबाट पात टिपेर नेपालगञ्जमा बिक्री गर्न आउने सीता र रमाको पनि कमाइ एक बिहानको रु चार सयदेखि रु पाँच सय सम्मको हुने गर्दछ । सालको पात बेचेरै अरुले पैसा कमाएको देखेर रमाले पनि सोही काम गर्न थालेको बताउनुभयो ।

सुरुमा लाज र अप्ठ्यारो लागे पनि हिजोआज भने रमाइलो लाग्ने गरेको सीता र रमा बताउनुहुन्छ । नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा सालको पातसँगै बजारमा पालिने पुशुचौपायालाई खुवाउनका लागि घाँस पनि बेच्न राखिएको हुन्छ । घाँस बेचेरै जीविकोपार्जन गर्दै आएकाहरु हिजोआज सजिलै घाँस पाउन छाडेपछि पेसा परिवर्तन गर्दै जङ्गलबाट सालको पात टिपेर बेच्न थालेको पाइन्छ । उहाँहरुले सालको पातलाई मुठा बनाएर बेच्ने मात्र गर्नुहुन्न पातबाट बन्ने सबै प्रकारका सामग्री हातैले बनाएर बेच्ने गर्नुहुन्छ । वर्षाको समयमा जङ्गलमा गएर पात टिप्न समस्या भएकै कारण केही महिना रोकिए पनि वर्षा सकिएलगत्तै उक्त चोकमा सालको पात प्रत्येक बिहान मुठाको रु २५ का दरले किन्न पाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।