फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ
काठमाण्डाै – नेपाल प्रहरीले अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरेको उजुरीमा काठमाण्डाै जिल्ला अदालतबाट दुवै जनालाई पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उहाँले बताउनुभयो ।


