चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

पूर्ण विके/तनहुँ, २६ साउन (रासस) : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ ।

भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहनुभएका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिनुभयो ।

“हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौँ”, उहाँले भन्नुभयो । आचार्यको जन्मघरकै स्वरुपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ । उहाँले भन्नुभयो, “अब घर निर्माण ढिला गर्न हुँदैन । विभिन्न दाताबाट केही रकम जुटिसकेको छ । चाँडै घर निर्माण थाल्छौँ ।”

भानुभक्तकालीन घर निर्माणका लागि करिब रु एक करोड खर्च हुने मञ्चले जनाएको छ । उक्त घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ । भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुङ्गाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिनुभयो । हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ ।

“आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ”, कोनेले भन्नुभयो, “भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ ।”

मञ्चले सात वर्ष पहिले २०७३ सालमा रु ६८ लाख लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो । तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताउनुभयो । भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब रु एक लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुनःनिर्माण गरेको थियो ।

विसं २०६० मा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।

“आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ”, उहाँले भन्नुभयो, “अब भानुभक्तकालीन घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौँ ।”

भानुजन्मस्थल विकास समिति मातहात कार्यालय परिसरमा चार रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करिब रु दुई करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन । शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ ।

राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा विकास समितिको बजेट चालुतर्फ रु १५ लाख र पुँजीगततर्फ रु २५ लाख मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् ।

आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आर्थिक उन्नतीको लक्ष्य राखिएको भानु नगरपालिकाको कार्यालयले जनाएको छ । मञ्चले भानुभक्तकालिन घर बनाउन तत्परता देखाउनु सकारात्मक भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । “भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रुपमा लिएका छौँ”, भानुजन्मस्थलमा बाटो र खानेपानीको व्यवस्था गरी सकेको बताउँदै अध्यक्ष त्रिपाठीले भन्नुभयो, “आगामी दिनमा भानुजन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौँं ।”

भानु नगरपालिकाको कार्यालयले विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा आदिकवि आचार्यको एक सय आठ फिटको पूर्ण कदको शालिक बनाउने र भानुकालिन गाउँ बनाउने योजना राखेको प्रमुख त्रिपाठीले बताउनुभयो । बुबा धनञ्जय र आमा धर्मावतीको कोखबाट विक्रम सम्बत् १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाउनुभएका अदिकवि आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोड्नुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।