कपन खोला काठमाडौं महानगरले आज खोतल्ने

काठमाडौ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) आज खोतल्ने भएको छ। शुक्रबार बिहान १० बजेबाट खोला खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए।

बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्न गएको थियो।

तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास सफल हुन नसकेको वडाध्यक्ष होडाले बताए।
‘कपन सधैं डुबानको चपेटामा छ। दुई वर्षअघि बाढीले बालक बगायो। अहिले पनि अलिकति पानी पर्नेबित्तिकै घर-घर पानी पस्छ । हामी दीर्घकालीन समाधान खोजिरहेका छौं। खोला त खोतल्नै पर्छ। हामी आज १० बजे साततलेबाट तलतिर खोतल्छौं,’ उनले सेतोपाटीसँग भने।
उनले कपन बाढी नियन्त्रणका लागि भनेर संघ सरकारले २८ करोड र प्रदेशले ३२ करोड हाराहारी बजेट छुट्टयाएको बताए।

टेन्डर भएर काम पनि सुरू भइसकेको उनको भनाइ छ।
तर, बूढानीलकण्ठ नगरपालिकाले चासो नदेखाउँदा कामले गति लिन नसकेको उनले बताए।
‘हामी कल्भर्ट बनाएर समाधानको प्रयत्न गरिरहेका छौं। स्थानीवासीलाई दख्खल नदिनेगरी र बाढी नियन्त्रण पनि हुनेगरी समाधानको उपाय निकाल्न लागिरहेका छौं। तर, बूढानीलकण्ठबाट सहयोग पाएका छैनौं,’ उनले भने।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आज नापी गएर नक्सा उतार्नेबारे काठमाडौं महानगरपालिकाका मेयरसँग कुरा भएको बताए।
काठमाडौं महानगरपालिकाको सीमा क्षेत्रबारे वडाध्यक्षहरूसँग कुरा मिल्न सकेको छैन। नक्सा उतारेर पहिले त्यसको निरूपण गरिनुपर्ने अधिकारीको आसय थियो।

‘हिजो अलिकति कुराकानी भयो। काठमाडौंका मेयर र म नापी कार्यालय जाने र खोला क्षेत्रको नक्सा उतार्ने, यति कुराकानी भएको छ,’ उनले भने।
बूढानीलकण्ठ नगरपालिका पनि दीर्घकालीन समाधान खोजिरहेको उपपप्रमुख अनिता लामाले जानकारी दिइन्।

‘पानी पर्नेबित्तिकै फैका (कपनको माथिल्लो तटीय क्षेत्र) देखि सरस्वतीनगरसम्म डुबानमा पर्छ। मानिसको ज्यानसमेत जाने जोखिम छ। यसले हामीलाई नपिरोलेको होला र? तर, सोध्दै नसोधी अर्को नगरपालिकाको सिमानामा आएर डोजर चलाउन पाइन्छ त? फेरि खोतलेर मात्रै हुन्छ समाधान दिनुपर्दैन? सामाखुसी क्षेत्रमा खोतलेर छाड्दा त्यहाँ बाढीको समाधान भएको छ त?’ उपप्रमुख अनिताले सेतोपाटीसँग भनिन्।
काठमाडौं महानगरले अहिले खोतल्न खोजेको खोलाको पुछार क्षेत्र हो। पुछार खोतलेर समाधान नहुने उनले बताइन्।

‘मेयरज्यू पहिलाको कपनको गाबिस अध्यक्षसमेत भएकाले खोलाको बहाव क्षेत्र पहिल्याएर समाधानको उपाय निकाल्दै हुनुहुन्छ। नगरपालिकाले त्यसमा काम गरिरहेको छ। खोलालाई नै सिमाना कायम गरेको छ। सिमानामा डोजर चलाउन त हामीसँग पनि समन्वय हुनुपर्‍यो नि!,’ हाम्रो भनाइ यति मात्रै हो।
हिजो तनाब उत्पन्न भएपछि कपन प्रहरी प्रभागमा मेयर बालेन शाह कुरेर बसेको तर नआएको उनले बताइन्।

‘हामी कार्यपालिकाको बैठक बसिरहेका थियौं। एक्कासि डोजरसहित महानगर प्रहरीहरू आएका छन् भन्ने सूचना आयो। जाँदा त वडाध्यक्षमाथि हातपात भइसकेको रहेछ, यस्तो तनाबको सिर्जना गरेर समाधान निस्कन्छ त? साततले नजिक खोतलेपछि बाटो नै बन्द हुन्छ त्यसपछि स्थानीय कहाँबाट आवतजावत गर्ने? जनप्रतिनिधिले त यो समेत सोचविचार गर्नुपर्‍यो नि!,’ उनले भनिन्।

मिलनचोकदेखि दुर्गा मन्दिरसम्म र सरस्वतीनगर क्षेत्र बर्सेनि डुबानमा पर्छ। गाेकर्णेश्वर नगरपालिकाकाे यज्ञडोल क्षेत्र र कपन गुम्बा भन्दा माथिल्लो भागदेखि बगेर आउने पानीले निकास नपाउँदा सडक-सडक बग्ने गरेको स्थानीय बताए।

कपन क्षेत्रमा अहिलेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी गाबिस अध्यक्ष हुँदा खोला क्षेत्रमा ह्युम पाइप हालेको र पछि त्यहीँमाथि पिच गरेर सडक बनाइएपछि पानीले निकासै नपाएको स्थानीयले बताए।
तल्लो तटीय क्षेत्रमा खोलाको बहाव क्षेत्र खोलेर पानीलाई निकास दिइन लागेको काठमाडौं महानगरपालिका-७ का वडाध्यक्ष होडाले बताए।
साततले मुनिको तटीय क्षेत्र काठमाडौं महानगर–७ पर्ने र माथि तेन्जिङचोकसम्म वडा नम्बर ६ पर्ने हुनाले समन्वय गरेरै अघि बढ्ने होडाले जानकारी दिए।

‘हिजोचाहिँ समन्वय नभएकै हो। मेयरसापको काम गर्ने शैली आफ्नै छ। डुबानले उहाँलाई पिरोलिराखेको छ। निकास दिऊँ भन्ने छ। आज बूढानीलकण्ठका मेयरसाप पनि आउँछु त भन्नुभएको छ। आए राम्रै हुन्थ्यो। आउनुभएन भने पनि हाम्रो क्षेत्रभित्र पर्नेचाहिँ खोतल्छौं,’ उनले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।