नेपालका यी ठाउंहरुमा छ सुनखानी..

काठमाडौँ । हाम्रा दुई नदी (सुनकोसी र सुनसरी) जसको नाममै ‘सुन’ शब्द जोडिएको छ । बझाङमा एउटा खोलाको नाम छ, सुनीगाड । रोल्पामा एउटा छहराको नाम छ, सुनछहरी । कृष्णप्रकाश श्रेष्ठको पुस्तक ‘स्थाननामकोश’ अनुसार, यी सबै नदी–खोलाको बालुवामा सुन पाइने भएकाले नाममा ‘सुन’ उपसर्ग लागेका हुन् ।

यस्तै, हामीकहाँ सुनखानी, सुनचौर नाम गरेका ठाउँ पनि छन्, यद्यपि हाम्रो चर्चित उखान छ — ल्हासा वा लङ्कामा सुन छ, कान मेरो बुच्चै । हामीसँग ‘सुन’ जोडिएका ठाउँ त छन्, तर आवश्यक सुन विदेशबाटै किन्नुपर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार, गरगहनाका लागि हामीले आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात गरेका थियौँ । गत वर्ष भने हाम्रो आयात १३ अर्ब २६ करोड रुपैयाँले घट्यो ।

हाम्रा केही नदीका बालुवामा सुन भेटिन्छन्, तर हाम्रो देशमा अलि ठुलो डिपोजिट (भण्डारण) भएको सुनखानी होला कि नहोला ? यही पत्ता लगाउन हामीकहाँ सरकारले कार्यालय नै खोलेर अन्वेषण गरेको करिब सय वर्ष पुग्न लाग्यो । १९८६ सालमा नहर तथा जियोलजी अड्डा स्थापना गरी खानीको अन्वेषण र विकासको सुरुवात संस्थागत रूपमा गरिएको थियो । यद्यपि हामीकहाँ अहिलेसम्म सुनखानी भेटिएको छैन ।

विभागको नक्साको सुन

खानी तथा भूगर्भ विभागले बनाएको ‘खनिज स्रोत नक्सा’मा ६१ स्थानमा सुनको स्रोत वा सम्भावना रहेको क्षेत्र भनी चिह्न लगाइएको छ । वास्तवमा यी चिह्न केको आधारमा लगाइयो ?

खानी विभागका सिनियर डिभिजनल जियोलजिस्ट शिव बास्कोटाका अनुसार, विभागको अध्ययनका आधारमा जहाँ जहाँ सुनका धाउ (धातुको कच्चा पदार्थ) देखिए, त्यसैका आधारमा नक्सामा सुन देखाइएको हो । ‘खासगरी जहाँको बालुवामा सुन मिसिएको छ, तिनै ठाउँ नक्सामा आएका हुन्,’ मंगलबार (२३ साउन) साँझ उनले टेलिफोनमार्फत भने, ‘यी सबैमा राम्रो मात्रामा सुन छ भन्ने हुँदैन । कति ठाउँमा न्यून मात्रामा सुन रहेको पनि हुन सक्छ । थप अध्ययन गरेर सुनको सम्भावना बढी रहेका ठाउँमा मात्रै उत्खनन गरिने हो । नत्र यो ठाउँमा सुन छ भन्ने रेकर्डमा मात्रै रहने हुन्छ ।’

खानी विभागबाट २०१८ सालमा प्रकाशित ‘खानी र मानिस’ पुस्तक अनुसार, सुनको खोजतलासका लागि चितवनस्थित रिउ उपत्यकाको मरोडी खोलामा ड्रिलिङ गरी नदीको सतहसम्म पुग्ने दुईवटा प्वाल खनिएको थियो । ‘दुवै प्वालमा अन्दाजी उत्तिको सतहमा सुनका कणहरू पाइएका छन्,’ उपर्युक्त पुस्तक भन्छ, ‘तर व्यापारिक तबरमा काम गर्न हुने वा नहुने छुट्याउनका लागि अझै जाँच–पडतालको काम जारी नै राखिनेछ ।’

यस पुस्तक अनुसार, त्यतिबेला बालुवा चाल्दा निम्न स्थानमा सुनको धुलो पाइएको थियो —भद्रमती (उपत्यका), कल्पु खोला (प. १ नं.), काम्ले दह (प. १ नं), बुढी गण्डकी (प. २ नं), नयाँ गढी खोला (बाग्लुंग), मुस्ताग (बागलुङ्ग), वार्वुग खोला (आठ हजार पर्वत), काली गण्डकी (रिडी) पाल्पा, सुनकोसी (दोलाल घाट) (पू. १ नं) र चौँरीखोला (पूर्व १ नं) ।

यद्यपि सरकारले अहिलेसम्म सुनको खानी पत्ता लगाउन सकेको छैन । खानी विभागकी प्रवक्ता मोनिका झाका अनुसार, हामीसँग सुनको राम्रो डिपोजिट नै छैन । अर्थात् ‘बेडरक डिपोजिट’ (ठोस चट्टानमा रहेको भण्डारण) भेटिएको छैन । ‘कुनै ठाउँमा रहेको सुन खिइएर बग्दै बालुवामा मिसिन आएका छन्, बालुवा चालेर निकाल्ने काम हामीकहाँ भइरहेको छ,’ झा भन्छिन्, ‘हामीकहाँ सुनकै खानी अहिलेसम्म फेला परेको छैन ।’

भूगर्भशास्त्र केन्द्रीय विभाग, त्रिविका विभागीय प्रमुख प्रा.डा. खुमनारायण पौडेलका अनुसार, चट्टानमा सुनका भेन (सानोसानो नसा वा शिरा) मिसिएर रहेको हुन्छ । ती चट्टान खिइएर बग्दै जाँदा सुनको केही मात्रा बालुवामा मिसिन्छ । ‘सुनको स्रोत पत्ता लगाउन सुन भेटिने बालुवालाई आधार मानी अनुसन्धान गर्नुपर्ने हुन्छ । हामीकहाँ पाइने भनेको वा विभागको नक्सामा देखाइएको बालुवाकै सुन हो, जसलाई प्लेसर डिपोजिट भनिन्छ । यो भनेको सानो मात्रामा अर्थात् सानासाना टुक्रा सुनहरू कतै चट्टानमा बसेका छन्,’ प्रा.डा. पौडेल भन्छन्, ‘बालुवामा ठुलो परिणाममा सुन देखिएको भए स्रोत खोजी हुन्थ्यो । सानो–सानो टुक्रा भएकाले कतै सानो मात्रामा छ भन्ने अनुमान गरिएको हो ।’

उनका अनुसार, सुन प्रायः आग्नेय चट्टान भएको ठाउँमा पाइन्छ, सबैभन्दा पहिले त आग्नेय चट्टान कहाँ कहाँ छन्, त्यसको नक्सांकन हुनुपर्छ । आग्नेय चट्टानमा पनि सानो मात्रामा सुन रहेको हुन सक्छ ।

सुनको खोजतलास गर्ने घटे

खानी तथा भूगर्भ विभागको पछिल्लो एक दशकको (२०७०–८०)को तथ्याङ्क अनुसार, सुनको खोजतलास गर्नेहरू घटेका छन् ।

आव २०७०/७१ मा खानी विभागले सुनको खोजतलासका लागि ६९ वटा लाइसेन्स वितरण गरेको थियो । जबकि आव २०७९/८० मा तीनवटा मात्रै लाइसेन्स दिइएको थियो । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ६४ वटा लाइसेन्स, २०७२/७३ मा ४६ वटा, २०७३/७४ मा १६ वटा, २०७४/७५ मा १३ वटा, २०७५/७६ मा पाँचवटा, २०७६/७७ मा चारवटा, २०७७/७८ मा नौवटा, २०७८/७९ आठवटा लाइसेन्स विभागबाट जारी भएको छ । ‘पहिले चिनियाँहरूको चासो र लगानी अलि बढी थियो । त्यसैले उनीहरूले खोजतलास बढी गरेका थिए,’ विभागका सिनियर डिभिजनल जियोलजिस्ट बास्कोटा भन्छन्, ‘सुनको सम्भावना नदेखिएपछि अहिले खोजतलासको लाइसेन्स लिनेहरू घट्दै गइरहेका छन् ।’

उनका अनुसार, विभागले खोजतलास र उत्खनन गरी दुई प्रकारका लाइसेन्स जारी गर्छ । माल (खनिज) हेरी खोजतलासको लाइसेन्स दुईदेखि चार वर्षसम्मको हुन्छ । पहिले खोजतलास लिनेहरूले नै पछि उत्खनन गर्छन् । उत्खनन गर्ने उद्योगलाई चार किसिमले वर्गीकरण गरिएको छ — अति साना, साना, मझौला र ठूला । यही अनुसार १० वर्षदेखि ३० वर्षसम्मको अवधिमा उत्खनन गर्नुपर्छ, तर खोजतलास वा उत्खननको लाइसेन्स लिनेले हरेक वर्ष नवीकरण गर्नुपर्छ ।

विभागको तथ्याङ्क अनुसार, वर्ष ०७९/८० मा उत्खननका लागि एक सय ५८ वटा लाइसेन्स जारी गरिएको थियो । पछिल्लो १४ वर्षको तथ्याङ्क हेर्दा उत्खननको लाइसेन्स लिनेको संख्या बढेको देखिन्छ । वर्ष २०६६/६७ मा उत्खननका लागि ६९ वटा मात्र लाइसेन्स जारी भएका थिए । यो १४ वर्षको उत्खननको तथ्यांकमा सुन भने परेको छैन । यसमा सबैभन्दा बढी लाइमस्टोन (चुनढुंगा) परेको छ । वर्ष २०६६/६७ मा चुनढुंगाको उत्खननका लागि विभागबाट २४ वटा लाइसेन्स जारी भएका थिए । वर्ष २०७९/८० मा आइपुग्दा चुनढुंगा उत्खननका लागि ९३ वटा लाइसेन्स जारी भएको देखिन्छ । चुनढुंगा सिमेन्ट उत्पादनमा प्रयोग हुने र पछिल्लो समय देशमा सिमेन्ट कारखाना बढेकाले यसको उत्खनन पनि केही बढेको हो ।

कहाँ कहाँ भेटिए सुनको धाउ ?

१) मरोडी खोला । २) हलचोक । ३) बेरिङ खोला । ४) त्रिशुली नदी । ५) भेरी नदी । ६) नरिदाङ (सेती नदी) । ७) म्याग्दी नदी । ८) ज्यामिरघाट (काली गण्डकी) । ९) मोदीखोला । १०) मादी खोला । ११) मस्र्याङ्दी नदी । १२) आरुघाट (बुढीगण्डकी) । १३) बुनकोट घाट (बुढी गण्डकी) । १४) दरबुङ (बुढी गण्डकी) । १५) बेनिघाट । १६) लुङ्ग्रीखोला । १७) फागम खोला । १८) गामखोला । १९) डम्फुटार । २०) डोकाढुंगा । २१) फुलिबन । २२) शेर्मा । २३) बर्गो । २४) खलेरु । २५) बांगाबगर । २६) गोराङ । २७) सुनिगाड । २८) बौलीगाड । २९) टारुगाड । ३०) धौलीगाड । ३१) सेती रिभर । ३२) जमारी गाड । ३३) पन्जुनया (चमलिया नदी) । ३४) रक्ताडी (चमलिया नदी) । ३५) महाकाली नदी । ३६) लालीगाड । ३७) बामनगाउँ । ३८) कर्नाली नदी । ३९) लाछी गाड (सेती नदी) । ४०) बिथार गाड (खलङ्गा नदी) । ४१) खलङ्गा गाड । ४२) रक्मा (कर्नाली नदी) । ४३) गोठी (कर्नाली नदी) । ४४) न्युना (सेती नदी) । ४५) चण्डी खोला । ४६) तातोपानी (कालीगण्डकी) । ४७) डमर । ४८) मुरेगुर्जा खोला । ४९) खिवाङ खोला । ५०) कुइने खानी खोला । ५१) राखोर खोला । ५२) चिङखोला । ५३) राहुघाट खोला । ५४) बागखोला । ५५) घारेखोला । ५६) सिखे खोला । ५७) मिस्त्रीखोला । ५८) रिउखोला । ५९) खटेरो । ६०) घट्टेगाड । ६१) छिर्लिङ खोला । -रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।