पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

काठमाण्डौ – पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् ।

विसं २०७८ फागुन १ देखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।

प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताउनुभयो । ‘विगतमा भएका सहमति पालना गर्न हामी तयार छौँ । ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ ।’

ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीले मिटर प्रणालीमा आउने समस्यालगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिनुभयो । ‘इन्धनको भाउ घटबढ हुँदा स्वचालितरुपमा भाडादर कायम गर्ने, पटकेलगायत यातायातका सेवालाई अनलाइन प्रणालीमा लैजान सके व्यवसायीलाई राहत पुग्छ,’ उहाँले भन्नुभयो, ‘एउटा प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अर्कै काममा प्रयोग भइरहेका छन् । यसलाई कडाइका साथ रोक्नुपर्छ ।’

दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किलाेमिटरकाे यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रूपैयाँ ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रूपैयाँ तोकिएको छ । १५ किलाेमिटरभन्दा बढीको दूरीमा प्रतिकिलाेमिटर ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा गरिएका प्रतिबद्धतालाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो ।

‘एक हप्ताभित्रमा पोखरा उपत्यकामा गुड्ने ट्याक्सी मिटरमा गुड्छन्, मिटर प्रणालीमा नचलेको पाइएमा कारबाही हुन्छ, ट्राफिक प्रहरीले नियमित अनुगमन गर्छ, मन्त्रालयबाट पनि यसको नियमन गर्छौं,’ उहाँले भन्नुभयो, ‘ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिइरहेको गुनासो आइरहेको छ, मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । ‘प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोसाक हुनुपर्नेलगायत उल्लेख छ,’ उहाँले भन्नुभयो, ‘यी कुनै पनि शर्त ट्याक्सीले व्यवसायीले लागू गर्न सकेका छैनन्।’

यातायातमन्त्री जुग्जालीले ट्याक्सीलाई तुरुन्त मिटर प्रणालीमार्फत् चलाउन यातायात व्यवसायीसमक्ष आग्रह गर्नुभयो । ‘विगतका समझदारी पालना गर्नुस्, मिटरमा नचल्ने ट्याक्सी चालकलाई अब हामी कारबाही गर्छौं,’ उहाँले भन्नुभयो, ‘स्वचालित भाडादर पनि लागू हुन्छ, व्यवसायीलाई मर्का पर्ने देखिएमा पुनःभाडा समायोजन गर्न सकिन्छ ।’

मन्त्री जुग्जालीले ट्याक्सी व्यवसायमा देखिएको ‘रुटपरमिट’को समस्या हल गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । दुई जिल्लाको मात्र रुटपरमिट हुँदा प्रदेशभित्रै एक ठाउँबाट अर्का ठाउँमा जाँदा पटके तिर्नुपर्नेलगायत झन्झट व्यहोर्न ट्याक्सी चालक बाध्य भएका गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले बताउनुभयो । सरकारले प्रदेशभित्र एउटै परमिट लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘गोरखाबाट पोखरा आउँदा पनि पटके काट्नुपर्ने, कर तिर्नुपर्ने बाध्यता छ, यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा निर्बाध चल्नु पाउने गरी रुट परमिट दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘समथर ठाउँ र सहरी क्षेत्रमा जस्तो पहाडी जिल्लामा मिटरमा ट्याक्सी चलाउन सम्भव नभए पनि वैज्ञानिक भाडादर कायम गर्न हामी तयार छौँ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।