क्यासिनोले सक्यो घरजग्गा, नक्कली सुनले पुर्‍यायो कारागार, नक्कली नोटमा पनि फसे दुर्गाबहादुर

काठमाडौं। गोरखाको आरुघाट गाउँपालिका घर भएका ४९ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री अहिले प्रहरी हिरासतमा छन्।

प्रहरी वृत्त महाराजगञ्‍जको टोलीले उनलाई असार ३० गते नक्कली नोट कारोबारमा पक्राउ गरेको हो। उनीसँगै भारतीय नागरिक विनयकुमार सिंह समेत पक्राउ परेका छन्।

सिंहको बयानका आधारमा प्रहरीले क्षेत्रीलाई नक्कली सुनसहित पक्राउ गरेको थियो। प्रहरीले विनयकुमार सिंहसँग भारतीय नक्कली नोट २ हजार दरको ४ थान, ५ सय दरको ४ थान र नेपाली नक्कली नोट १ हजार दरको ६ थान र १ किलो फाइनगोल्ड लेखिएको धातु बरामद गरेको छ।

क्षेत्री २०४७ सालतिर गोरखाबाट काठमाडौं छिरेका थिए। त्यसपछि उनले ठमेलको डान्स बारमा काम गर्न थाले। काठमाडौंमा बिस्तारै जग्गाको कारोबार सुरु हुँदै थियो। त्यही मौकालाई उनले समात्‍न भ्याए। काठमाडौंको म्हैपी क्षेत्रमा उनले जग्गाको कारोबार गर्न थाले। बिस्तारै जग्गाको कमिसनबाट आफ्नै घरजग्गा जोड्न समेत भ्याए।

काठमाडौं वडा नम्बर १६ म्हैपीमा जग्गा खरिद गरेर उनले घर बनाए। त्यसपछि उनको चाहना व्यापारतिर बढ्न गयो। उनले आफ्नै घरमा हार्डवेयरको व्यापार सुरु गरे। उता जग्गा दलालीको काम पनि गरिरहेका थिए। कमाई राम्रो हुँदै गएको थियो।

क्षेत्रीको कमाइसँगै पाँचतारे होटेलतिर जाने लत समेत बस्दै गइसकेको थियो। होटेलको क्यासिनोमा पुगेर जुवामा रमाउन थाले। त्यतिखेर अहिले जस्तो नेपालीलाई क्यासिनो प्रवेशमा कडिकडाउ भइसकेको थिएन।

जसरी उनलाई जग्गाको कारोबारले साथ दिएको थियो क्यासिनोमा भने त्यस्तो भएन। जुवाको खेलमा उनी हार्दै गए। तर आम्दानी नभएको अवस्थामा पनि ऋण गरेरै क्यासिनो जान भने छोडेनन्।

ऋण धेरै भएपछि उनले घर नै बेच्‍नु पर्‍यो। घर बेचेर साहुको ऋण तिरे। केही रकम बच्यो तर फेरि उही क्यासिनोमा नै उडाए। उनी केही वर्षमा नै घरको न घाटको हुन पुगे।

क्यासिनोमा नै प्रकाश भन्‍ने व्यक्तिसँग उनको चिनजान भयो। पैसा नभएपछि सुनको बुद्धको मूर्ति भएको र बेचेर पैसा आउने आस प्रकाशले देखाएको दुर्गाले प्रहरीसँगको बयानमा भनेका छन्। त्यसपछि उनीहरुले मूर्ति बिक्री गरे।

१० लाख रुपैयाँमा मूर्ति बिक्री गरेर दुर्गाको हातमा प्रकाशले २ लाख रुपैयाँ थमाएका थिए। तर त्यो मूर्ति सुनको नभएर नक्कली निस्कियो। मूर्ति खरिद गर्नेले प्रहरीमा उजुरी दियो। दुर्गाबहादुर समातिए। जिल्ला अदालत काठमाडौंको आदेशमा ५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भए।

अब दुर्गाको यात्रा काठमाडौंबाट भारततर्फ मोडियो। भारतको गोवा पुगेका दुर्गाबहादुर फेरी पनि क्यासिनोको लतबाट टाढा हुन सकेनन्। कमाएको पैसा फेरि उही क्यासिनोमा नै खर्च गर्न थालेका थिए। भारतीय साथी लालबहादुरसित उनको सम्बन्ध कायम भयो। उनीहरू नेपाल भारत गर्न थालेका थिए। तर कारोबार भने अवैध नै थियो।

नक्कली सुन देखाएर सस्तोमा बिक्री गर्ने भन्दै ठगी गर्ने धन्दा नै थियो। उनीहरूले नक्कली सुन बिक्री गर्न विभिन्‍न योजनाहरू समेत बुनेको प्रहरीको बयानमा दुर्गाले खुलाएका छन्। त्यही क्रममा लालबहादुरले उनलाई खर्चको लागि केही भारतीय र नेपाली नोट दिएका थिए।

त्यही क्रममा लालबहादुरले नै विनयकुमार सिंहसँग सम्पर्क गराएका थिए। उनीहरूको काठमाडौंमा भेट भएको थियो। तर नक्कली नोट र सुनको कारोबार भएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

दुर्गाबहादुर फेरी प्रहरीको हिरासतमा पुगेका छन्। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुलुकी अपराध संहिता २०७४ को दफा २५७ अनुसार खोटा मुद्रा चलन गर्न नुहुने कसुरमा मुद्दा दायर भएको छ।

त्यसो त पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभित्र नक्कली नोटको कारोबार बढ्दै भएको छ।-बिजमाण्डु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।