ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै विमलेश

खेमराज गौतम/ गलकोट( बागलुङ) २८ साउन : बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे छ ।

बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएका बागलुङ नगरपालिका–१ रामरेखाका उहाँले पहिलो चरणमा यसको फल उत्पादन गरी रु एक लाखमा एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको बताउनुभयो ।
रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गर्नुभएको आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उल्लेख गर्नुभयो। जिल्लामै ठूलो क्षेत्रफलमा यो खेती गर्ने उहाँ पहिलो कृषक हुनुहुन्छ । “छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको छ”, आचार्यले भन्नुभयो, “ पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले यो खेती एक वर्षअघिदेखि आफ्नै छ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाइएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए ।”

उहाँका अनुसार ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो । अहिले आचार्यले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट बिक्री गरिरहनु भएको छ ।

पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले बागलुङमा व्यावसायिकरूपले यसको उत्पादन थालिएको हो । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले खेती अवलोकन गर्नुभएको थियो । आचार्यले यस खेतीका लागि कृषि ज्ञान केन्द्रले प्राविधिकसँगै मल्चिङ प्लास्टिक र थोपा सिँचाइका लागि सहयोग गरिरहेको बताउनुभयो ।

निर्माण व्यवसायीसमेत रहनुभएका उहाँले यो खेती विस्तारका लागि रु ५० लाख लगानी गरी प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिनुभयो । ड्रागन फ्रुटका लागि सिमेन्टको पोल र टायरसमेत आवश्यक पर्ने भएकाले छ सय सिमेन्टका पोल र टायरमा दुई हजार एक सय बिरुवा आचार्यले लगाउनुभएको थियो ।

जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायतका लागि रु ५० लाखभन्दा बढी लगानी गरिसकेको र आगामी दिनमा लगानी बढाउने योजना रहेको उहाँको भनाइ थियो । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाउँदै लगेको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाई हुने गरेको छ । उहाँले ड्रागन फ्रुट रोपेको १८ महिनाभित्रै उत्पादन भइसक्ने अनुमान गरिएकामा एक वर्षभित्रै फल लागेपछि खुसी भएको बताउनुभयो ।

ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भए पनि त्यसपछि खर्च घटेर आम्दानी बढ्दै जानेछ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पहिलो पटक ड्रागन फल उत्पादन भएको बताउनुभयो । “उहाँले आफ्नै लगानीमा फर्म स्थापना गर्नुभएको हो, तर पछि हाम्रो प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक र सिँचाइका लागि सहयोग गरिएको छ”, प्रमुख भट्टराईले भन्नुभयो, “उच्च व्यावसायिकता भएको ड्रागन फलको बजार निकै राम्रो छ ।”

दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सरबिरुद्ध प्रतिरोधात्मक गुण हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।