महानगरको अभियान सफल, डुबानबाट विराटनगरवासीले पाए राहत

मोहम्मद सदरुल/ विराटनगर, २८ साउन : बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा शुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन ।

बर्सातका दिनहरूमा सधैँ जलमग्न हुने विराटनगरलाई डुबानबाट राहत प्रदान गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले यसपटक बर्सातको मौसम शुरु हुनुअघि नै नगर क्षेत्रका ढल तथा नालाहरूलाई सफाइ गरेपछि परिवर्तनको अनुभव भएको हो ।

नगर क्षेत्रका सबैजसो ढल र नालाहरूमा नकुहिने गुट्खाका खोल र प्लाष्टिकजन्य फोहर अत्यधिक भएर नाला जाम हुने समस्या रहेको विभिन्न अध्ययनले देखाउनुका साथै स्थानीयवासीको ठहर थियो । अहिले महानगरले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक पनि लगाइसकेको छ भने नालाहरू पनि बर्खाअघि नै सफा गरेको थियो । नगरपालिकाको यस कार्यले डुबानको समस्या भोग्नु नपरेको विराटनगर जनपथ निवासी अर्जुन सुवेदीले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगर क्षेत्रमा सरसफाइ, उज्यालो विराटनगर, पार्किङ व्यवस्थापन, सुर्तीजन्य पदार्थ बेचबिखन र सेवनमा रोक, फुटपाथ नियन्त्रणसहितका महत्त्वपूर्ण अभियान चलाउनुभएको छ ।

कार्यभार सम्हालेको छोटो समयमै जनताले महसुस गर्ने गरी कार्य गरेको भन्दै विराटनगरका महानगरवासीले प्रमुख कोइरालाको प्रशंसा गरेका छन् । “महानगरको अहिलेको नेतृत्वले धेरै नै काम गरेको छ”, सामाजिक अभियन्ता तथा उपभोक्ता जागरण अभियान नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले भत्रुभयो, “तर हाम्रो समाज धेरै नै नकारात्मक भइसकेको छ । जतिसुकै राम्रो काम गरे पनि विरोध नै हुन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भत्रे सोचको विकास हुनु आवश्यक छ ।”

मार्सेलीले महानगरले हिउँददेखि नै व्यापकरूपमा नाला सफा गरेका कारण यसपटक मुख्य सडक डुबानमा नपरेको बताउनुभयो । महानगरले यसपटक माघदेखि नै नाला सफाइ अभियान सञ्चालन गरेको थियो । नाला बनेदेखि सफा नहुँदा पानीको सहज निकास हुन सकेको थिएन । जसका कारण सामान्य वर्षा हुँदा नै अधिकांश सडक जलमग्न हुने गरेको थियो । मार्सेलीकै शब्दमा स्थानीय सरकारले गर्ने भनेको सरसफाइ, पार्किङ, सुशासन नै हो ।

“विराटनगर विगतमा भन्दा धेरै नै सुन्दर देखिएको छ”, उहाँले भत्रुभयो, “राम्रो काम भएकोलाई राम्रो नै भत्रुपर्छ । व्यापारीले पसल अगाडि सामान राख्दा, लुगा झुण्ड्याउँदा अनि छतरीमा टाउको ठोक्किएर फुटपाथबाट हिँड्न सकिँदैनथ्यो । अहिले निर्वाधरूपमा हिँड्न सकिन्छ । पानी पर्दा व्यापारीहरूलाई एकछिनका लागि प्लाष्टिक लगाउन दिनुपर्छ । यसकै कारण महानगर कुरूप भयो भत्र मिल्दैन । पार्किङ पनि व्यवस्थित भएको छ ।” प्रमुख कोइरालासँगै उपप्रमुख शिल्पा निराला कार्कीसहित सबै जनप्रतिनिधिमा केही गरौँ भत्रे हुटहुटी आफूले पाएको मार्सेलीको भनाइ छ ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले पनि महानगरले पूरा गर्नुपर्ने दायित्व राम्रोसित पूरा गर्दै गएको आफूले महसुस गरेको बताउनुभयो । “जस्तो कि सरसफाइ, उज्यालो विराटनगर, पार्किङ, फुटपाथ नियन्त्रण, सुर्तीजन्य पदार्थमा प्रतिबन्धलगायतका अभियानले महानगरवासीको मन छोएको छ । त्यस्तै सुशासनसहितका जुन–जुन क्षेत्रमा महानगरले काम गरिरहेको छ त्यो जनताले महसुस गर्ने गरी गरिरहेको छ,” ढुङ्गेलले भत्रुभयो, “तर महानगर यतिमा मात्रै सीमित हुनु भएन । सुरुआत राम्रो छ ।”

महानगरको कुशल नेतृत्वमा कुशल टिमले महानगरवासीलाई भरपर्दाे सेवा प्रवाह गरिरहेको र सुधारको अनुभूति हुन थालेको नागरिक समाजका अगुवा रामबाबु दाहाल बताउनुहुन्छ । “बिजुली बत्ती जडान गर्ने अभियान राम्रो छ । सरसफाइमा ध्यान पुगेको छ । मिहिन ढङ्गले काम भइरहेको छ”, दाहालले भत्रुभयो, “प्रचारात्मकभन्दा सूक्ष्म ढङ्गबाट काम गरिरहेको मैले पाएको छु । महानगर प्रमुखमा जनताका समस्यालाई तत्कालै सम्बोधन गर्ने मनस्थिति रहेको मैले पाएको छु ।”

नागरिक समाजका अगुवामात्रै होइन सर्वसाधारणले पनि विराटनगर महानगरपालिकामा प्रमुखका रूपमा कोइराला आइसकेपछि धेरै नै परिवर्तनको महसुस भएको प्रतिक्रिया दिएका छन् । महानगर मातहतका कार्यालयबाट प्रवाह हुने सेवामा समेत सुधार आएको विराटनगर–५ का गणेशप्रसाद पोखरेलको भनाइ छ ।

महानगरका जुनसुकै शाखाबाट हुने काम छ भने तुरुन्तै हुने गरेको आफूले पाएको पोखरेलले जानकारी दिनुभयो । “महानगरले दिने सेवामा विगतमा भन्दा धेरै परिवर्तन भएको मैले पाएको छु”, पोखरेलले भत्रुभयो, “नागेश कोइरालालाई जुन आशा र भरोसाले भोट दिइएको थियो अहिलेसम्म त्यसलाई गिर्न दिनुभएको छैन । आगामी दिनमा पनि दिनुहुने छैन ।” विगतमा विशेष गरी घरनक्सा शाखाबाट सेवा लिँदा धेरै नै दुःख पाएको पोखरेलले अनुभव सुनाउनुभयो ।

विराटनगर गुद्रीका कपडा व्यापारी शङ्कर साहले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवामा प्रतिबन्ध लगाएकोमा खुसी व्यक्त गर्नुभयो । आफूले १५ वर्षसम्म गुट्खा खाएर छाडे पनि पछिल्लो समय छोराले धेरै नै खाने गरेको उहाँको भनाइ थियो । महानगरको प्रतिबन्धपछि छोराले गुट्खा खान छाडेकाले आफू सबैभन्दा धेरै खुसी भएको प्रतिक्रिया दिनुभयो ।

प्रभातकालीन घुमाइ सकेपछि चिया पसलमा चुरोट, खैनी र गुट्खा खाने मानिसहरूको स्वभावमा पनि परिवर्तन आएको विराटनगर बसपार्क नजिकै चिया पसल गर्ने सोम मगरले जानकारी दिनुभयो ।

उहाँले प्रभातकालीन घुमाइ सकेर यहाँ चिया खान आउने मानिसले चिया खानुभन्दा पहिले चुरोट सल्काउनु हुन्थ्यो र कोहीले गुट्का खानु हुन्थ्यो तर महानगरले नगरको सार्वजनिक स्थानमा चुरोट खान तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएपछि धेरै सुधार भएको प्रतिक्रिया दिनुभयो ।

महानगरपालिकाको यही अभियानबाट प्रभावित भएर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले उत्कृष्ट महानगरपालिका भनेर विराटनगर महानगरपालिका प्रमुख कोइरालालाई सम्मान पनि गरिसकेको छ भने अहिले नगरवासी पनि प्रमुखको यस्तो कदमलाई प्रशंसा गरिरहेका छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।