भोजपुरमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

टक्सार (भोजपुर), ३१ साउन : पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा वृद्धि हँुदै गएको छ । जिल्ला अदातलको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷०८० मा अदालतमा दुई सयभन्दा बढी मुद्दा दर्ता भएका छन् ।

जिल्ला अदालत भोजपुरका से्रस्तेदार मोहन घिमिरेले गत आवमा भोजपुरमा दुई सय ३६ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको जानकारी दिनुभयो । “भोजपुर अदालतमा दर्ता हुने मुद्दामा सम्बन्धविच्छेदका घटना पनि बढी छन्, पतिपत्नीको असमझदारीका कारण मुद्दा दर्ता बढी देखिन्छ”, उहाँले भन्नुभयो ।

गत आवमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ५३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

जिल्ला अदालतमा दर्ता भएको सम्बन्धविच्छेदको सङ्ख्याले समाज र परिवारमा पतिपत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाएको छ । जिल्लामा पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो छ । श्रीमान् वैदेशिक रोजगारीमा गएको, बालविवाह, महिलामा आएको चेतना र श्रीमान्ले श्रीमतीको समान अस्तित्व स्वीकार नगर्नेजस्ता कारण सम्बन्धविच्छेदका मुख्य कारण रहेको देखिएको छ ।

सम्बन्धविच्छेदको घटनामा करिब ७५ प्रतिशत घटना वैदेशिक रोजगारीका कारण भएको देखिएको
छ । स्वतन्त्रपूर्वक बस्न सकिन्छ भन्ने मानसिकता बढेका कारण पनि पछिल्लो समयमा सम्बन्धविच्छेदका घटना बढ्न थालेको बुझाइ सामाजिक अभियन्ता अशोक खतिवडाको छ । “आर्थिक, सामाजिक, पारिवारिकरूपमा आत्मनिर्भरतामा वृद्धि भएकाले पतिपत्नीबीच खटपट उत्पन्न भएमा स्वतन्त्ररूपमा बस्न सक्छु भन्ने आत्मविश्वास बढेकाले पनि सम्बन्धविच्छेदका घटना अहिले सामान्य हुन थालेको छ”, खतिवडाले भन्नुभयो ।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार पनि बनेको छ । कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ, लामो समयसम्म श्रीमान्श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का उपशङ्का पैदा हुने गरेका कारण पनि सम्बन्धविच्छेदको बाटो खुल्ने गरेको स्थानीय कृष्णमाया तामाङको बुझाइ रहेको छ ।

सम्बन्धविच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरिने भए पनि दीर्घकालीनरूपमा समाज र परिवारमा धेरै कठिनाइसँग सामना गर्नुपर्ने अवस्था आउन सक्ने बुझाइ अधिकारकर्मीको छ । स्थानीय तहमा गठन भएका न्यायिक समितिले समेत सम्बन्धविच्छेदका कतिपय घटनामा पूर्वमेलमिलापका लागि सहजीकरण गर्ने गरेको छ ।

महिलामाथि हुने घरेलु हिंसाका कारणले सम्बन्धविच्छेदका घटना बढेको अधिकारकर्मीको धारणा छ । स्थानीय सरकार र सरोकारवालाले घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि महिलामाथि हुने हिंसामा कमी नआएका कारण पनि सम्बन्धविच्छेदका मुद्दा बढ्न गएको मानवअधिकार रक्षक महिला सञ्जाल भोजपुर अध्यक्ष लीलामाया तामाङले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।