सुनकाण्डमा जोडियो केटीबी रेष्टुरेन्ट, दुई सञ्चालक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्ट पनि मुछिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई पक्राउ गरेको छ ।

मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । तीमध्ये तियान मी र वीन तोङ रेष्टुरेन्ट सञ्चालक भएको पाइएको हो ।

उनीहरुले सञ्चालन गरेको केटीबी काराओके रेष्टुरेन्ट ठमेलस्थित होटल भियना नजिकै छ । होटल भियनामा राजश्व अनुसन्धान विभागले १४ साउनमा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको थियो । त्यतिबेलै विभागले होटलका सञ्चालक बेल्जियन नागरिकलाई दावा छिरिङलाई समेत पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा सुन प्रकरणमा संलग्न चिनियाँ नागरिकहरु होटल भियना र केटीबी काराओके रेष्टुरेन्टमा पटकपटक गएको खुलेको थियो । स्रोतका अनुसार, भियनाको नाममा लिइएको चार वटा गाडी चिनियाँ तस्करहरुले प्रयोग गरेका थिए । त्यही आधारमा दावा पक्राउ परेका थिए ।

दावाको माओवादी केन्द्रका उच्च नेताहरु निकट सम्बन्ध छ । उनकी श्रीमती अमला रोका रोल्पाकी माओवादी नेतृ समेत हुन् । अन्य पार्टीका नेता र सुरक्षा अधिकृतहरुसँग पनि उनको सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ ।

स्रोतका अनुसार, दावामार्फत चिनियाँ तस्करहरु केटीबी काराओके रेष्टुरेन्टसम्म जोडिएका थिए । ‘सुन बोकेको गाडी क्लबमा पटकपटक जाने गरेको देखिएको छ, त्यहाँ यससँग सम्बन्धित बैठकहरु पनि हुने गरेको पाइएको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यही आधारमा पक्राउ गरेका हौं ।’

सीआईबीले अपार्टमेन्टमा अरु दुई चिनियाँ नागरिक डिङ सेल्फा र ली नेङ्काईलाई पनि पक्राउ गरेको थियो । सुन प्रकरणको अनुसन्धान सुरु भएपछि उनीहरु पहिले बसिरहेको ठाउँ छाडेर डाउन टाउन अपार्टमेन्टमा गएका थिए । त्यसको प्रबन्ध केटीबीका दुई सञ्चालकले नै मिलाएको अधिकृतहरू बताउँछन् ।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न स्वरुपमा आउने सुन संकलन गरेर ल्याउने व्यक्ति भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘त्यसरी आएको सुन दावा सञ्चालक रहेको होटल भियनाको नाममा लिएको गाडीमार्फत काठमाडौंको विभिन्न क्षेत्रमा रहेको गोदामसम्म लैजाने गरेको पाइएको छ’, स्रोतले भन्यो, ‘यसको व्यवस्थापन होटल भियना र क्लब केटीभीबाट हुने गरेको देखिन्छ ।’

अनुसन्धान अधिकृतहरुले दुई जनाको गिरफ्तारीलाई अहिलेसम्मको महत्वपूर्ण सफलता भनेका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘डिङ र ली आफैं सुन ओसारपसारमा संलग्न व्यक्ति भएकाले उनीहरुको गिरफ्तारी महत्वपूर्ण उपलब्धि हो ।’

उनीहरुबाट महत्वपूर्ण सूचना हात पर्नसक्ने अधिकृतहरु बताउँछन् । तर, चिनियाँ नागरिकसँग बयान लिन प्रहरीलाई भाषाको समस्या हुने गरेको छ । अधिकृतहरुका अनुसार, चिनियाँले अंग्रेजी भाषा जाने पनि अनुसन्धानमा असहयोग गर्न प्रायः बोल्दैनन् । एक अधिकृत भन्छन्, ‘अनुवादक ल्याएर भोलिबाट सोधपुछ सुरु हुन्छ ।’

राजस्व अनुसन्धान विभागले ३ साउनमा सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । मंगलबार गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।

विभागको पत्रका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्यूरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ ।

जोङ छ्याङ चाहिएको बेला उपस्थित हुने गरी छुटेका छन् भने झाओ हुई र ताङ जिङको साथमा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएकाले थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।