गिरीको अस्तु सेलाउने कार्यक्रमप्रति परिवारको आपत्ति
काठमाडौँ — कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ ले गर्न लागेको कार्यक्रमप्रति गिरीकी श्रीमती भारती सिलवाल गिरीसहित छोरा र बुहारीले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
‘परिवारसँग गाँसिएको संवेदनशील विषयलाई कुनै पनि अमूक व्यक्ति वा संघसंस्थाद्वारा बिनास्वीकृति गर्न नपाउने हिन्दु परम्परा र कानुनतः कुनै पनि रूपमा ग्राह्य छैन,’ विज्ञप्तिमा भनिएको छ । कैयौं पटक मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि समितिका नायक कञ्चन झा, रामपल्टन शाहलगायतले अस्तुको राजनीति गर्न खोजिरहेको परिवारको आरोप छ । समितिले अस्तु विसर्जनको बहानामा चन्दा उठाएको आरोप पनि परिवारले लगाएको छ । ‘अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? जबकि उहाँको अस्तु हामीसँग सुरक्षित छ,’ विज्ञप्तिमा भनिएको छ ।
घाँटीको क्यान्सरबाट पीडित गिरीको २०७९ भदौ ३ मा निधन भएको थियो । समितिले बिहीबार अस्तु यात्रा र सेलाउने तालिका सार्वजनिक गरेको थियो । समितिका अगुवा कञ्चन झाले भने अस्तु आफूहरूसँग रहेको र परिवारसँगको सल्लाहमा नै यात्रा कार्यक्रम तय गरेको दाबी गरे । ‘परिवारसँगको सरसल्लाहमै कार्यक्रम तय गरिएको हो । उहाँहरूसँग हामी सुरुदेखि नै छलफलमा छौं । अन्तिम समयमा उहाँहरूलाई के चित्त बुझेन, अचम्म लागेको छ,’ झाले भने, ‘बेलायतमा रहेका स्वर्गीय गिरीका कान्छा भाइ शेखरकै उपस्थितिमा पत्रकार सम्मेलन गरी अस्तु विसर्जनको कार्यक्रम सार्वजनिक गरेका हौं ।’
अस्तु विसर्जन कार्यक्रमका लागि कुनै पनि चन्दा नउठाइएको उनले बताए । यसअघि पनि गिरीका सहयोगीहरूले परिवारकै अनुमतिमा अस्तु भारतको बिहारस्थित सिमरियाको गंगा किनारमा विसर्जन गरिएको झाले बताए । रामपल्टन शाह, मन्दीप गिरी भारती र कृष्ण खनालले स्वर्गीय गिरीको लामो समयदेखि हेरचाह गर्दै आएका थिए ।-कान्तिपुर


