बिदेसिनेको व्यथा : बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज

काठमाडौ । ‘हिउँ परिरहेको थियो। मनोज कहिले अघि त कहिले पछि हिँड्दै थियो। उसलाई चिसोले सताएको थियो। बाटोमा पटकपटक बान्तासमेत गरेको थियो। मलाई देश फर्कन मन छ भनिरहन्थ्यो,’ बेलारुसको आधा बाटोमा मनोज शाही हराउँदाको क्षण सम्झँदै उनकै एक साथीले भने, ‘ऊ राम्ररी खान सक्ने स्थितिमा थिएन। कहिले हिँड्दाहिँड्दै थचक्क बस्थ्योे र निकै बेरपछि सकीनसकी दौडीदौडी आउँथ्यो। लात्भियाको सीमानजिकै पुग्दा म अब एक कदम पनि पाइला सार्न सक्दिनँ, मेरो पासपोर्ट र मोबाइल देऊ, प्रहरीकोमा गएर सरेन्डर गर्छु, मलाई डिपोर्ट गरिदिन्छ भन्दै निकै जिद्दी गरेको थियो। हामीले सम्झाउँदै हिँडाइरहेका थियौं।’ साथीहरूसँग हिँड्दाहिँड्दै लात्भियानजिकैको जंगलबाट मनोज बेपत्ता भए।

उल्लिखित घटना वैशाख १९ गतेको हो। मनोज कामको खोजीमा बेलारुस हुँदै पोर्चुगल जाँदै थिए। तर पोर्चुगल नपुगी बेलारुसको जंगलबाट हराए। उनकै साथीहरूले उक्त जानकारी गराएका हुन्। पोर्चुगल जाने भनी हिँडेको सो समूहमा मनोजसहित १७ जना थिए। उनीहरू कञ्चनपुर, झापा र चितवन गरी तीन जिल्लाका हुन्। कञ्चरपुरका २८ वर्षीय मनोज भने बेलारुसको जंगलमा बेपत्ता भएका हुन्। पटकपटक सरकारी निकायको ध्यानाकर्षण गराउँदा पनि मनोजको खोजीका लागि कुनै तदारुकता नदेखाइएको उनका भिनाजु सुनिलजंग शाहीले बताए।

कञ्चनपुरकै दलाल दीपेश शाहीलाई मोटो रकम बुझाएर मनोज पोर्चुगल जाने भन्दै हिँडेको बताउँदै उनले नागरिकसँग भने, ‘अहिले उनी जीवित छन् कि छैनन् भन्ने कुनै टुंगो छैन।’ मनोज परिवारको एक्लो छोरो भएको, घरमा आमा र बहिनी रहेको उनले जानकारी दिए। ‘मनोज कञ्चरपुरमा घर बनाउने काम गर्थे। ऋण काढेर दलाल दीपेशको हातमा १४ लाख थमाएर पोर्चुगल जाने भन्दै उनले घर छाडेका थिए। बुढी आमा छोराको पखाइमा पिँढी कुर्दैछिन्,’ सुनिलजंगले भने।

मनोज शाहीसमेत सम्मिलित १७ जना गत चैत २९ गते दलाल दीपेशको नेतृत्वमा उडेका थिए।

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन्। त्यसकारण वैदेशिक रोजगारीका नाममा हरेक दिन नेपाली ठगिने गरेका छन्। मानव तस्करहरूले ‘मासिक तलब लाखौंलाख, खान र बस्न फ्री’ भन्दै अनेकौं प्रलोभनमा पारेर नेपाली युवाहरूलाई विभिन्न देश लाने भने पनि कतिपयलाई आधा बाटोमै अलपत्र पार्ने गरेका छन्। खासगरी सिधासाधा नेपालीलाई बिनाश्रम स्वीकृति विभिन्न देश पुर्‍याउने गरिएको छ। पुर्‍याउन नसके आधा बाटामै अलपत्र पार्ने गर्दा कैयौं नेपाली युवा ‘न लास न सास’को अवस्थामा पुग्छन्। मनोज पनि त्यस्तै अवस्थाको सिकार भएका हुन्।

७ जना स्वदेश फर्कन सफल

‘फ्लाइट टु फ्लाइट’ नेपालबाट पोर्चुगलमा पुर्‍याउने भन्दै दलाल दीपेश शाहीले मनोजलाई बेलारुसको आधा बाटोमा बेवारिसे अवस्थामा छाडिदिएकोे आरोप लगाइएको छ। पोर्चुगल जाने भनिए पनि आफूहरू बेलारुसतिर गइरहेका ती दलालले बताउने गरेको नेपाल आइपुगेका पीडितहरूले बताए।

समूहका अधिकांशसँग दलालले १७ लाख रूपैयाँ लिएका थिए।

समूहका अधिकांशसँग १७ लाख रूपैयाँ लिएका ती दलालले केहीसँग १४ लाख लिएको पीडितहरूको दाबी छ। आधा बाटोमा पुगेपछि ट्याक्सीमै पोर्चुगल पुर्‍याउने भन्दै बीच बाटोमा पुग्दा घर न घाटको बनाएको उनीहरूले बताए।

‘बीच बाटोमा पैसा थप्नुपर्छ भन्दै त्यो दलालले थर्कायो,’ हाल स्वदेश फर्किसकेकामध्ये दलाल दीपेशलाई उद्धृत गर्दै आधा बाटोबाट नेपाल फर्किएका एक युवाले भने, ‘सुरुमा नेपालबाट सिधै बेलारुस जाने अनि त्यहाँबाट ट्याक्सीमा पोर्चुगल छिर्ने हो। गाह्रो छैन। सजिलै पुर्‍याउने मेरो काम हो। जसोतसो पोर्चगल पुर्‍याए भएन? तिमीहरू किचकिच मात्रै गर्छौ।’

यसरी आधा बाटोमा पुगिसकेपछि पैसा पुग्दैन भन्दै खोचे थापेर थपे मात्र पोर्चुगल पुगिने नत्र बेलारुसमै अलपत्र परिने भन्दै ती दलालले धम्क्याएको ती युवाहरूले सुनाए।

मनोज सम्मिलित १७ जनाको समूह गत चैत २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दलाल दीपेशको नेतृत्वमा उडेका थिए। दीपेशले भिजिट भिसामा दुबई, रसिया र बेलारुस हुँदै आफूहरूलाई लगेको युवाहरूको भनाइ छ। लात्भियाको सीमा पार गर्ने क्षण सम्झँदै मनोजका अर्का साथीले भने, ‘चिसोले मनोज स्वास्थ्य स्थिति बिग्रेको थियो। बाटोमा आगो बालेर पनि सेकायौं। तीन दिनसम्म बोकेर, डोर्‍याएर हिँडाएका थियौं। हिँड्न खोज्दा थचक्कै भुँइमा बस्थ्यो र ऊ पछि पथ्र्यो। आइरहेको होला भन्दै हामी हिँड्थ्यौं। एक दिन त निकै बेर आएन। आउँदै होला भन्ने हामीलाई लागेका थियो। थकाइ मार्दैै मनोजलाई पख्र्यौं तर ऊ आइपुगेन।’ दुईजना साथी खोज्न जाँदा उसको चप्पल मात्र फेला परेको उनीहरूले बताए।

‘दलाल दीपेश शाहीले मोटो रकम लिएर हामीलाई जंगलमा अलपत्र पारेको छ। बेलारुसको सेन्टरमा ८/१० दिनदेखि भोको पेटमा धमिलो पानी खाँदै बसेका छौं। हामी बेलारुस र पोल्यान्डको जंगलमा अलपत्र परेको यो भिडियो आमासम्म नपुर्‍याउनुहोला।’

यस्तै सन्देशसहित दलाल दीपेशले फसाएको भन्दै ती पीडितहरूले बेलारुसको जंगलमा खिचेको भिडियो सामाजिक सञ्चालमा ‘सेयर’ गरेका छन्। रसियाबाट बेलारुसतिर लाग्दा सबै साथीभाइ सँगसँगै निस्के पनि बाटोमा हिँड्न नसक्ने साथी छुट्लान् भनेर ससाना समूह बनाउने निर्णय गरिएको पोर्चुगल जाने भनी हिँडेकामध्ये एक मित्रलाल खनालले बताए। उनका अनुसार सन्तोष शाही, पूजा भण्डारी र खेम विष्टले अगुवाइमा तीन समूह बनाइएको थियो। उनका अनुसार कहिले जंगल, कहिले सुक्खा पहाड हिँड्नुपर्थ्याे, मौसम धेरै चिसो थियो।

साथीहरूसँग हिँड्दाहिँड्दै लात्भियानजिकैको जंगलबाट मनोज बेपत्ता भए।

केही समयपछि तीनबाट दुई समूह बने। एउटा समूह पाँचजनाको थियो भने बाँकी १२ जनाको अर्को समूहमा मनोज पनि समेटिएको खनालले बताए। उक्त जंगलमा १५/१६ दिन खान पाइएन। पानी पनि थिएन। सुत्ने समस्या उस्तै। खाना र पानी नपाउँदा अधिकांश युवा गलेको उनले सुनाए। ‘लात्भिया र पोल्यान्डको सीमा पार गर्न लाग्दा बोर्डरको प्रहरीले अधिकांशको मोबाइल खोसिदिएको थियो,’ उनले भने, ‘पोल्यान्डको बोर्डरबाट सीमा पार गर्ने क्रममा १५ किमि जंगलकै बाटो हिँड्दै गर्दा फेरि पनि प्रहरीले समेत समात्यो। त्यतिबेला दलाल दीपेश सम्पर्कविहीन भइसकेको थियो।’

पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना हालै बेलारुसबाट स्वदेश फर्केका छन्। बेलारुसस्थित नेपाली दूतावासले जसोतसो पीडितहरूलाई फर्काउन समन्वय गरेको थियो। दूतावासले टिकटको व्यवस्था मिलाएपछि साउन पहिलो साता आफूहरू नेपाल आएको उनीहरूले बताए। त्यसरी फर्किएकाहरूले दलाल शाहीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरो र वैदेशिक रोजगारी विभागमा उजुरी दिएका छन्। मनोजबारे अत्तोपत्तो नरहेको ब्युरोका एसपी नरहरि रेग्मीले जानकारी दिए।-सविता खड्काले नागरिकन्यूजमा लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।