मकवानपुरगढीमा अन्तरिक पर्यटकको घुइँचो

रिपेश दाहाल/ बागमती, ३ भदौ : वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्यबर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा रहेको छ ।

गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरुका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहनुभएकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउनुहुन्छ । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरुको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ ।

विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे ।

पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरु, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ ।

विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरु आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् ।

गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउनुहुन्छ । उहाँका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरु आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरुको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउनुहुन्छ ।

हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरु पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउनुहुन्छ ।

मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो ।

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।