याक्थुङ सभ्यता झल्काउने सावा येत्हाङ पाङ्भे निर्माण परियोजना सुरु हुँदै

विजयपुर । याक्थुङ लिम्बु समुदायको मौलिक पहिचान र सँस्कृतिलाई विश्वस्तरमा लैजाने उद्देश्यले पूर्वमा एक महत्वकाङ्क्षी परियोजना सुरु भएको छ । याक्थुङ जातिको मौलिक धर्म युमा भनेर वकालत गरिरहेको संस्था युमा साम्यो महासभाको पहलमा मुन्धुमी सभ्यताको झल्को दिने गरी धरानमा सावा येत्हाङ पाङ्भे बन्न लागेको हो ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित कागुने भन्ने स्थलमा करिब १७ कठ्ठाको क्षेत्रफलमा बन्न लागेको पाङ्भेको निर्माणले याक्थुङबा लिम्बु जातिमा आफ्ना मुन्धुमी थातथलाहरूको संरक्षण गर्ने प्रेरणा मिल्ने महसभाले जनाएको छ । याक्थङहरूको मौखिक शास्त्र मुन्धुममा आठ राजाको चर्चा गरिन्छ । जसले आ–आफ्नो इलाकामा शासन चलाएका थिए । यी आठ शासक बस्ने पाङ्भे(गाउँ)लाई स्मरण गरेर सावा येत्हाङ पाङ्भे निर्माण हुन लागिरहेको छ ।

करिब ६ करोड ११ लाख रूपैयाँको लागतमा निर्माण हुने परियोजनाको पहिलो चरणअन्तर्गत जग्गा खरिद गर्ने काम भइरहेको छ । जसका लागि महासभाआबद्ध समितिहरूबाट स्वेच्छिक रकम संकलन गरिएको छ । महासभाको पूर्वी लिम्बुवानका सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा र काठमाडौँ उपत्यकामा जिल्ला समितिहरू र हज्जारौँ शुभेच्छुक समर्थकहरू रहेका छन् । त्यस्तै, प्रवासमा बेलायत, साउदी अरब, मेलसिया, कतार, कुवेत, साइप्रस, जर्मनी, संयुक्त राज्य अमेरिका, हङकङ, ब्रुनाई, सिंगापुर, अष्ट्रेलिया लगायतका मुलुकबाट पनि सहयोग आइरहेको महासभाले उल्लेख गरेको छ । राष्ट्रिय जनगणनाअनुसार जातजातिको संख्या १४२, मातृभाषा १२४ र धर्म १० कायम भएका छन् । जसमध्ये याक्थुङ लिम्बु जातिको संख्या ४,१४,७०४ रहेको छ । नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी, आसाम, मनिपुर, म्यानमार, थाइल्यान्डमा समेत उल्लेख्य संख्यामा बसोबास रहेको छ । सावा येत्हाङ पाङ्भे परियोजनाले विश्वभरका याक्थुङ समुदायलाई जोड्ने संकल्प लिएको अभियन्ताहरू बताउँछन् ।

त्यसैगरी, नेपाल सरकारको सहरी विकास मन्त्रालयको वस्ती विकास परियोजनाअन्तर्गतको शीर्षकबाट ३० लाख रूपैयाँ विनियोजन भएको महासभाका अध्यक्ष देवेन्द्र वनेमले बताए । ‘सहरी विकास मन्त्रालयबाट हामीलाई ३० लाख रूपैयाँ आएको छ । यो बजेट परियोजनाको प्रारम्भिक ग्राउन्ड स्केचिङ सुरु हुनेछ । जसले परियोजनालाई आधार दिनेछ,’ उनले भने । थप परियोजना सम्पन्न गर्न प्रदेश र संघीय सरकारसमक्ष पहल गर्ने र सहयोगी दाताहरूमाझ अपिल गर्ने समेत उनले बनाए ।

परियोजनाको उद्देश्य :
सावा येत्हाङ पाङ्भे बनेपछि याक्थुङ लिम्बूको मुन्धुमी पूर्खा, स्थल, नीति, संस्कार र ज्ञानको बारेमा थाहा पाउन सहज हुने महासभाका सचिव सन्तोष कुरुम्वाङले बताए । उनले भने, ‘याक्थुङ लिम्बूहरूको व्यवहारमा मुन्धुमी संस्कारलाई पुनः प्रचलनमा ल्याउनेछौँ । इतिहास, भाषा, लिपि, साहित्यको संरक्षण र प्रचार–प्रसार गर्न र परम्परागत वासस्थान, रहनसहन, प्रचलन, खाना तथा पोशाक आदिका बारे जानकारी प्रदान गर्न यो पाङ्भे सहयोगी हुनेछ ।’ सचिव कुरुम्वाङका अनुसार याक्थुङका सामूहिक रुपमा गर्न मिल्ने सबै संस्कार र अनुष्ठानहरु सामूहिक रुपमा गर्न पनि स्थलको उपभोग गर्न सकिने छ ।

आदिवासी याक्थुङ समुदायका विभिन्न प्रकारका हस्तक्षेपहरुबाट हालका मुन्धुमी थातथलाहरू अतिक्रमणमा परेको भन्दै उनीहरू चिन्तित छन् । जसले गर्दा मुन्धुमी ज्ञान र दर्शन दिनानुदिन संकटमा परेको समुदायको ठहर छ । सावायेहाङ पाङ्भेको निर्माणले याक्थुङ्बा लिम्बू जातिमा आफ्ना मुन्धुमी थातथलाहरूको संरक्षण गर्ने प्रेरणा पाउने विश्वास छ । विभिन्न पक्षहरुको भाषिक, सांस्कृतिक र राजनैतिक अतिक्रमणले याक्थुङ लिम्बु समाजमा गरिने संस्कारहरू व्यवहारिक रुपमा मात्रै बाँकी छन् । लिम्बु संस्कार र संस्कृतिका श्रोत तुम्याङ, फेदाङ्बा, साम्बा र येबाहरू जस्ता मुन्धुमसाबाहरू लोप हुँदै गैरहेका छन् । सावा येहाङ पाङ्भेको निर्माणले यस्ता फेदाङ्मा, साम्बा, येबा/येमाहरूको संरक्षण हुने निर्माणकर्ताहरूको दाबी छ ।

के के हुनेछ पाङ्भेमा ?
तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको पाङ्भेमा मुन्धुम हिम (केन्द्रीय कार्यालय) र सावायेत्हाङ हिम रहनेछन् । त्यसैगरी, मुन्धुमी पात्रकै नाममा पेगि फाङसामहिम÷सोधुगेन लेप्मुहाङ हिम बनाउने योजना रहेको छ । साँस्कृतिक पक्षलाई उजागर गर्न साम्योक लुङयोकतेन (न्याय दिने) खाजोङतेन (संस्कार गर्ने), युमा हेनातेन (युमा पुज्ने), के लाङ हिम (च्याब्रुङ नाच्ने घर), याराक्मा हिम (धान नाच्ने घर) रहनेछन् ।

प्राकृतिक कुरालाई दर्शाउन पाक्वातेन (कुवा), वधानतेन (धारा), वरक (पोखरी), तरङ (साँघु) रहनेछ । त्यस्तै, मुन्धुम वर्णित वनस्पति र जैविक विविधतालाई झल्काउन थोकफेत्ला ना?ला (गुराँश गल्ली), सिङअम्ला लुङअम्ला ना?ला (सुनाखरी गल्ली), सिमि?ला पकि?ला ना?ला (मालिङ्गो गल्ली), फुङ इत्ताप (सेक्मुरि, ले?वासेन, लेक्वासेन, सिदिङबा, युक्मिबा, माङलोक, हेन्छिङ, मारोति, तेङ्गो, वरुमफुङ लगायतका बोट बिरुवा रोपिनेछ ।

सावा येत्हाङ पाङ्भे माैलिक विधि, संरचना र माेडालिटीमा बनिने महासचिव डा. रमेश इजमले जनाए । निर्माण कार्यमा सहयोग गर्नेहरूकाे नामावली शिलालेखमा पारिवारिक विवरण र अन्य जानकारीसहित राखिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।