सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव
धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्युु भएपछि तनाव भएको छ । सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो ।
बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म डाक्टर नआएपछि मृत्यु भएको बताइन् ।
‘उहाँ एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ । ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन । दुई बजेतिर फेरि बेहोस् भएर उहाँको मृत्यु भयो ।’
मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले घटनाको छानबिन गरेर कारवाही नहुँदासम्म शव नउठाउने बताइन् । ‘यो अस्पतालमा जहिल्यै लापरबाही हुने गरेको थियो । आज यहाँका डाक्टरको लापरबाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारवाही नगरेसम्म हामी शव उठाउदैनौँ ।’


