ओझेलमा निसेलढोर

डम्मर बुढा मगर/ ढोरपाटन, ५ भदौ स् तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ ।

काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीयस्थल ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ । करिब एक दशक अगाडि मोटरबाटोले जोडिएको निसेलढोरमा अहिले उही कच्ची र जोखिमपूर्ण सडकमा स्थानीयवासी यात्रा गर्छन् ।

सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको निसेलढोर एउटा मौलिक गाउँका रुपमा परिचित छ । ढोरपाटन उपत्यकाबाट करिब तीन घण्टा पैदलयात्रामा पुग्न सकिने निसेलढोर निसीखोला गाउँपालिका–५ मा पर्छ । ढोरपाटन उपत्यका भने ढोरपाटन नगरपालिका–९ मा पर्छ । निसीखोलातिरबाट मोटरबाटोले नजोडिएको हुँदा निसेलढोर पुग्न ढोरपाटनबाटै जानुपर्ने हुन्छ ।

पैदलयात्रा गरेर मात्रै निसीखोलाबाट यहाँ पुग्न सकिन्छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको निसेलढोरका स्थानीयवासीको आफ्नै मौलिक वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । उनीहरुको आफ्नै मगर खाम भाषा छ । लेकाली हावापानी, शान्त वातावरण र यहाँबाट देखिने दृश्यले गर्दा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

ढोरपाटन सिकार आरक्ष क्षेत्रमै पर्ने हुँदा यहाँ पुग्ने पर्यटकले विभिन्न प्रकारका वन्यजन्तु प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्छन् भने वास्तविक गाउँले जनजीवनको अनुभूति गर्न सक्छन् । निसेलढोर सडकले जोडिनुपूर्व बर्खाको समयमा मात्रै यहाँ स्थानीय बसोबास गर्थे भने सडक पुगेपछि अहिले बाह्रैमहिना यहाँ बस्नेको सङ्ख्या बढ्दै गएको छ । यहाँ खास गरी निसीखोला–५ निसी गाउँका स्थानीयवासीको बढी बसोबास हुने गर्छ ।

पछिल्लो समय घुमफिरका लागि निसेलढोर आउने पर्यटक बढ्न थालेको स्थानीयवासी फुर्सी विकले बताउनुभयो । उहाँले सहर बजारबाट एक÷दुई रात बास बस्न, गाउँले खानाको स्वाद लिन र यहाँको ठाउँ घुम्न युवा बढी आउने बताउनुभयो । चार वर्ष अगाडिसम्म बाहिरका बासिन्दा खासै नआएको भन्दै अहिले महिनामा १५÷२० आन्तरिक पर्यटक निसेलढोर पुग्ने विकको भनाइ छ । पहिले बर्खामा निसेलढोर र हिउँदमा निसी बसोबास गरेको भन्दै अहिले यही पशुपालन गरेर स्थायी रुपमा बस्न थालेको उहाँ बताउनुहुन्छ ।

“धूरीडाँडा काटेर आउने जाने गर्नुपथ्र्यो, अहिलेको जस्तो माटोरबाटो आएको थिएन, मोटरबाटो आए पनि बुर्तिबाङ घुमेर निसी पुग्नुपर्ने बाध्यता थियो, अहिले धेरै वर्ष भयो, यतै बस्न थालेका छौँ, सुरुसुरुमा सुनसान थियो, यही रमाइलो ठाउँ रहेर र बस्यौँ, अहिले त धेरै मान्छेहरु यहाँ बस्न थाले” विकले भन्नुभयो– “पछिपछि यो ठाउँ पनि विकास भएर बजार बन्ला, पहिलेभन्दा अहिले केही सुविधा भएको छ, केही वर्षपछि अझै धेरै सेवा सुविधा बढ्ने छन्, हाम्रा सन्तानले धेरै दुःख पाउने छैनन्, हाम्ले एक दिनभरि लगाएर बुर्तिबाङबाट चामल र नून ल्याएर खान्थ्यौँ ।”

निसेलढोरवासीको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका एकै किसानका सयौँ भेडाबाख्रा हुन्छन् भने उनीहरुले सयौँ गाईभैँसी पाल्ने गरेका छन् । भौलिक विकटताका कारण पछाडि परेको निसेलढोरमा अहिले पनि सञ्चारको पहुँच पुगेको छैन । विकासका नाममा पुगेको त्यही एउटा मोटरबाटो हो । मोटरबाटो पनि निकै जोखिमयुक्त छ ।

राज्यले लगानी गर्न सके निसेलढोर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निसीखोला–५ का हेमराज सापकोटाले बताउनुभयो । उहाँले स्थानीय सरकारले प्रचारप्रसार, विद्युत् विस्तार र सडकलाई व्यवस्थित बनाउन सके वार्षिक हजारौँ पर्यटक निसेलढोरमा भित्र्याउन सकिने बताउनुभयो । यो ठाउँ प्राकृतिक रुपले निकै मनमोहक भए पनि भौतिक विकास नहुँदा ओझेलुनु परेको बताउनुहुन्छ ।

बुर्तिवाङ बजारदेखि ढोरपाटन उपत्यका हुँदै निसेलढोर जोड्न सडकको वैकल्पिक सडक निर्माण गर्न जरुरी रहेको भन्दै निसीखोलातिरबाट पनि पर्यटकका लागि पदमार्ग र छोटो सडक बनाउन आवश्यक रहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ– “निसेलढोरमा पर्यटक भित्र्याउन सरकारले धेरै काम गर्नुपर्दैन, बिजुली, मोटरबाटो र केही संरचना बनाउन सके जति पनि पर्यटक यहाँ आउँछन्, सामान्य सेवा सुविधा नहुँदा निसेलढोर घुम्न आउने पर्यटक कम भएका हुन्, यहाँ सुविधायुक्त होटल, बास बस्न मिल्ने स–साना घर पनि हुन जरुरी हुन्छ, यो ठाउँ घुम्नका लागि निकै उपयुक्त ठाउँ छ, हिउँद बर्खा पर्यटकको कमी हुने थिएन, बर्खामा हरियालीसँग रमाउने र हिउँदमा हिउँफुल खेल्न आउनेको कमी हुने थिएन ।”

अहिले फाट्टफुट्ट निसेलढोर पुग्ने आन्तरिक पर्यटक बिजुली नभएकै कारण बास नबसी फर्कने गर्छन् । उनीहरु टुकीकै भरमा रात बिताउँछन् । यहाँबाट गाउँपालिकाको केन्द्रमा पुग्नै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ ।

एकदशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी ९निसीगाउँ० र गर्मीयाममा लेक ९निसेलढोर० गर्ने गर्थे । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर भौगोविक विकटताका कारण अहिलेसम्म निसेलढोर विकासका हिसाबले पछाडि परेको हुँदा पर्यटक पनि भित्र्याउन नसकिएको बताउनुहुन्छ । निसेलढोरमा अब शिक्षा, स्वास्थ्य, विद्युत र सडकको सही व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो ।

यसैवर्ष स्वास्थ्य संस्था स्थापना गरेको र विद्युत् विस्तारका लागि पहल भइरहेको उहाँको भनाइ छ । “निसेलढोरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयासमा हामी छौँ, पालिकाको सीमित बजेटले एकै पटक गर्न सकिदैन, यहाँको सडक, विद्युत र अन्य पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गछौँ, आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमा जोड दिन्छौँ” उहाँले भन्नुभयो– “स्थानीय नागरिक पनि तत्पर हुनुपर्छ, यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि पर्यटन प्रवद्र्धन जरुरी छ, अब यहाँको अन्य सम्भावनाको खोजी गरी प्रवद्र्धनमा लाग्ने योजना बनाएका छौँ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।