तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

शङ्कर श्रेष्ठ/मलेखु (धादिङ), ६ भदौ : धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन ।

मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । लामा भन्नुहुन्छ, “गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।”

एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । “सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ”, लामाले विकटको समस्या सुनाउनुभयो ।

हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताउनुभयो ।

लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाउनुभएको छ । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो रु चार सयको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा रु एक सय ५० मा दिइरहनुभएको छ । रु एक सय ५० किलोले नै हिसाब गर्ने हो भने पनि रु नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ ।

कानुन विषय पढ्नुभएका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर गर्नुहुन्छ । आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाउनुभएको हो । माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ ।

“हामी सानो छँदा घरमा दुई बोट थियो । धेरै फल्थ्यो । गाउँभरिका मान्छेलाई खान पुग्थ्यो । मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट रु एक सय २० का दरले बिरुवा ल्याएर लगाएँ”, लामा भन्नुहुन्छ, “आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन÷चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।”

फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति रु दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उहाँको माग छ ।

स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।