‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

वालिङ (स्याङ्जा), ७ भदौ : दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।

छाप्राकको बस्तीमा केही दिन अघिमात्रै पहराबाट दुई ठूला ढुङ्गा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका दुई ढुङ्गा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउनुहुन्छ ।

“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ”, उहाँले भन्नुभयो, “घरभन्दा माथि बाँसघारी भएकाले ढुङ्गाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुङ्गा घरैनेर आएको छ ।” बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउनुहुन्छ ।

“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ”, उहाँले भन्नुभयो, “अन्त कहाँ गएर बस्नु ? सङ्ख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन ।”

वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुङ्गा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउनुहुन्छ । दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी दुई सय चार घर छन् । उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् । अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताउनुभयो ।

“बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुङ्गालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन”, उहाँले भन्नुभयो, “यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ ।”

बस्ती नजिकै ढुङ्गा खसेपछि गाउँले त्रसित छन् । केहीदिन अघि जोखिमस्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो । गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुङ्गा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उहाँले बताउनुभयो । लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

“तत्कालै बस्ती सार्न सकिँदैन”, उहाँले भन्नुभयो, “दीर्घकालीनरुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।