पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर (चितवन), ८ भदौ : नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उहाँले बताउनुभयो । “सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे”, उहाँले भन्नुभयो, “तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।” यहाँका व्यवसायीले हात्ती थपेका छैनन् । स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि घटाएको उहाँले बताउनुभयो । उहाँले दुईवटा हात्ती घटाएर एउटा मात्र पाल्नुभएको छ ।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो । कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउनुहुन्छ । उहाँले पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको बताउनुभयो । उहाँका अनुसार एउटा हात्ती पाल्न मासिक रु डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्दछ । तर आम्दानी भने रु एक लाख पनि नहुने बताउनुभयो ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन । विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताउनुभयो । उहाँका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् । त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ ।”

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताउनुभयो । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उहाँले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । सरकारले निजीस्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालेका हात्ती रहेको उहाँले जानकारी दिनुभयो । उहाँले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताउनुभयो । हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।

हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ । यद्यपि व्यवसायीले रु ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्दछन् । यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।