धनगढीकी शिक्षिकाको सुसाइड नोट : उसका सबै कुरा मान्दा मृत्यु उपहार पाँए, सरी दिदी, मम्मी
धनगढी । धनगढीको दिपेन्द्र प्रहरी स्कुुलमा गत बैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् ।
दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् । पारिवारीक स्रोतकाअनुसार राजेश्वरी फेसबुुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् ।
करीब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्बादबाट दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् । रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।
पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदिशलाई फोन गरेर हप्काउदै सम्झाईबुुझाई गर्छन् भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भन्छन् । नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदिश विवाहित पनि हुन् । दुवै जनाको सम्बन्धबारे थाहा पाएपछि सिमगार्ड परिवर्तन गरेर छोरीलाई बर्खे विदा मनाउन डडेल्धुरास्थित माइलो भाई गोपालसिंह डडालकोमा पठाउँछन् ।
‘जेठो छोरीले दुुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाईबुुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए,’ राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’
३ भदौँमा बर्खे विदा सकिएर विद्यालय सञ्चालन भएकाले राजेश्वरी डडेल्धुराबाट सोझै धनगढी आउँछिन् । ४ गते विद्यालय जाने बेला महेन्द्रनगरबाट धनगढी आएका जगदिश राजेश्वरीलाई स्कुल नजिकै भेटाउछन् । राजेश्वरीले परिवारलाई बताएअनुसार जगदिशले आफूहरुको सम्बन्धबारे सबैलाई थाहा भइसकेकाले गोदावरी धाममा गएर सिन्दुर हाल्ने बाचा गर्छन् ।
‘यो बीचमा दुई जनाबीच सम्पर्क भएको थिएन तर केटा धनगढी आएर सिन्दुर हालेर विवाह नै गर्ने भनेपछि ४ गते छोरी उनीसँगै गोदावरी गएकी रहेछिन्,’ राजेन्द्र भन्छन्, ‘तर त्यहाँ सिन्दुर हालेन । कता बसेछन् त्यो पनि थाहा भएन । ५ गते दुुवै जनालाई धनगढी चौराहमा भेटिएका थिए ।’ दार्चुलामै रहेका राजेन्द्रले दुवै जनालाई प्रहरीको जिम्मा लगाइदिन भनेका थिए । सोहीअनुसार धनगढीमा रहेका आफन्तले दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए ।
प्रहरीमा मिलापत्रपछि आत्महत्याको बाटो
आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुुझाएपछि प्रहरीले दुुवै पक्षलाई सोही दिन(भदौँ ५ गते) छलफलका लागि बोलाउँछ । जिप्रकाका महिला तथा बालबालिका सेलमा भएको छलफलमा दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गर्छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले उनीहरु दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै सहमतीमै अबदेखि अलग हुने बताएपछि कागज गरेर छाडिएको थियो । ‘दुुवै जना अबदेखि हामीहरु एकअर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले भने ।
तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्माहत्याको बाटो रोजिन् । प्रहरीले मिलापत्र गराउदै दुवै जनालाई आफन्तको जिम्मा लगाएको भोलिपल्ट भदौ ६ गते बिहान धनगढी–३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी मृत भेटिएपछि प्रहरीले मिलापत्र गराउने मृतकका प्रेमी जगदिश कोट्टारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक बस्यालले मृतकका आफन्तले आत्महत्या दुरुत्साहनमा मुद्दा दिएपछि अनुसनधान अघि बढाइएको जानकारी दिए ।
भेटियो सुसाइड नोट
राजेश्वरीले आत्माहत्या गर्नुअघि आमा र दिदीलाई सम्बोधन गर्दै लेखेको एउटा सुसाइड नोट फेला परेको छ । सुुसाइड नोटमा उनले जगदिशले सिन्दुर दिने ठाउँमा मृत्युु दिएको भन्दै आमा र दिदीसँग माफी मागेकी छन् ।
‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुुट कुुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राती हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो तर खोइ…आफ्नी श्रीमती भन्न सेक्स गनुपर्छ रे यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए उपहार मैले मृत्यु पाए,’ सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।
उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन् । आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी हजुरहरुले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढि हुने छैन मलाई ।’
मृतकका बुुवा राजेन्द्रले साला नाता पर्ने जगदिशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुनअनुसार कारवाहीको माग गरेका छन् ।-प्रेसपत्र


