बैतडीको जहाज नचल्ने विमानस्थल बन्यो टिकटक बनाउने थलो

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, “यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।”

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा रु तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर रु पाँच हजार पुगेको थियो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए ।

“हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ”, उनले भने, “नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

करोडौँका संरचना प्रयोगविहीन

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रु १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् ।

तीन वर्षअघि रु ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ ।

विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने, “थु्प्रै पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ ।”

नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताए ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् । नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए ।

धावनमार्ग टिकटक बनाउने थलो

जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ । उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् ।

द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो । विसं२०३६ देखि २०५२सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो । छब्बिस वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।