घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

भक्तपुर, १४ भदौ : भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङ्घिसी नाच प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् । यस क्षेत्रका नेवार समुदायले हिजो जनैपूर्णिमा मनाएका र आज गाईजात्रा मनाएका हुन् ।

दिवङ्गत व्यक्तिको सम्झनामा आजदेखि नेवार समुदायमा घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको यसअन्तर्गत जात्राका दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आज दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

घिनिताङ घिनिताङ घिन्ताङघिसी त्वाङ’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा देखिन्छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लो सहभागिता हुँदै आएको छ । पर्यटन प्रबद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए ।

घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ।

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडाँै, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराइएको थियो ।

जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाचसमेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि आजको जात्रा समापन गरिन्छ । यसपछि परालबाट बनेको भैरव र अजिमाको तमाचा निस्किएपछि अन्य तमाचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो ।

साताव्यापी मनाउने जात्रामा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो। सात दिनसम्म मनाइने गाईजात्रामा भोलिदेखि घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।

श्रीकृष्णजन्माष्टमीको दिन भैरब मन्दिरमा नेवारी पोसाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पूजा गरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरुले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी घुमिरहेका छन् ।

हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने भएकाले पृथ्वीमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतात्माहरुले यमलोक प्रवेश गरी मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिनुभयो । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन काठमाडौँका राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आदेश दिएकाले त्यसबेलादेखि गाईजात्रा सुरु भएको बताइन्छ । घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएअनुरूप यस्तो प्रचलन चल्दै आएको बताइन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।