आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

भादगाउँ (भक्तपुर), १४ भदौ : मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ ।

मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ । भक्तपुरको गाईजात्रा हेर्न उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती र विदेशीसमेत हजारौँको सङ्ख्यामा हेर्न आउने गर्दछ । त्यसैले भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।

भक्तपुरमा गाईजात्राको औपचारिक सुरुबाट जनैपूर्णिमाको साँझ नै गरिन्छ । जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ ।

जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा भाद्रशुक्ल प्रतिपदाको दिन सापारु मनाइन्छ । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्ग जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा गोलाकार काठको लट्ठी एकआपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धसमेत सहभागी हुन्छन् ।

ताहासा चार वटा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चार वटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासा बनाइन्छ । ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले बेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुँरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा( रङ्गीन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतिक खास्तो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ । ताहासाको बिचमा जामाचा लगाइन्छ । अगाडि पछाडि मृतकको र भगवानको तस्बिरसँगै ऐना राखिन्छ ।

भक्तपुरका कुमालेले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगरपरिक्रमा गराउँछन् । कुमालेको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने भएकाले उनीहरुले आफ्नै मौलिक पुख्र्यौली पेसाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्णा लीला पनि प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव-पार्वती, राधाकृष्णका रुपमा श्रृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर परिक्रमा गराइन्छ ।

गाईजात्रा निकाल्नुअघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतिक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरी र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पुरागरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानका रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रोलगायत फलफूल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ । बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर परिक्रमा गराइन्छ । परिक्रमा गरउँदा ताहासामा मृतकको तस्बिरले जात्रा हेर्न आएकालाई कसको ताहासा निकालेको स्पष्ट हुन्छ ।

परिक्रमा गर्दा किरियापुत्र, छोरीहरु र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयले आफ्नो गच्छेअनुसार मालपुवा स्वारी, फलफूल, बिस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नासपाती र जुस दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो निलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई परिक्रमा गराइन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । गर्भवतीको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर लाने परम्परा छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिकविश्वासले गाईजात्रा निकाल्छ ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गरिन्छ । भैरवको ताहासा निकाल्दा स्थानीय टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहासा भैरवको ताहासासँगै लाने चलन छ । भैरवनाथको ताहासालाई परिक्रमा गराउँदा तमारी, दरबार स्क्वायर र तचपालमा तीनतीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ । प्रतिपदाको दिनभरी अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवता दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन छ ।

शोक र उल्लासको सङ्गमका रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रतापमल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्रा डा श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार लिच्छवीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईजात्रा गर्ने चलन पूर्वमध्यकालमा सुरु भएको श्रेष्ठको भनाइ छ ।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । नेवार समुदायमा भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।

किंवदन्तीअनुसार राजा प्रतापमल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हाँस्यव्यग्य, ख्यालठट्टा प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य प्रदर्शन गरिन्छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्नुहुन्छ । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उहाँको भनाइ छ । उहाँले विक्रमको १४आँै शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधार भएको बताउनुभयो ।

त्यसैगरी भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानकोभन्दा भिन्न र मौलिक शैलीको भएकोसंस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । “भक्तपुर तन्त्र विद्यायुक्त सहर हो । यहाँका हरेक सांस्कृतिक परम्परा तान्त्रिक विधिपूर्वक मनाइन्छ”, उहाँले भन्नुभयो, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ गाईजात्रा मनाइन्छ ।”

भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर मृतकको नाममा ताहासा, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो ।

गरुडपुराणमा मानिसको मृत्यु भएपछि ११ दिनमा वृषसर्ग गर्नुपर्ने परम्परा छ । त्यसदिन मृतक परिवारले जिउँदो गाई र त्यसका लागि आवश्यक जग्गा दान दिए मात्र मृतकको आत्मा शान्ति हुन्छ भनेको छ ।

जग्गा र गाईदान गर्ने विकल्प खोज्दै जादा वृषसर्ग कर्म नगरेपनि स्वर्गको ढोका खोल्ने भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा निकाल्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भने धार्मिक विश्वास भएर नेवार समुदायले यो पर्व मनाउन थालेको अर्को संस्कृतिविद ओम धौभडेलले बताउनुभयो । शोक र मृत्युसँग सम्बन्धित यस जात्रामा मध्यकालदेखि नै हाँस्यव्यङ्ग्य र ख्यालठट्टा सुरु भएको उहाँले बताउनुभयो ।

“प्रारम्भमा गाई यात्राका रुपमा रहेको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो । पहिला गाईलाई नगर परिक्रमा गराए मृत्यु संस्कार पूरा हुन्थ्यो पछि गाईसँगै विभिन्न बाजागाजा पनि राखियो त्यसपछि यात्राबाट जात्रामा परिणत भएको हो,” धौभडेलले भन्नुभयो ।

पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा भदौ १४ गते एकै दिन परे पनि नगरपालिकाले सरोकारवाला र तलेजुका पुजारीसँग छलफल गरी भदौ १३ जनैपूर्णिमा र १४ गते सापारु मनाउने निर्णय गरिएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।