‘दुबुङलाई मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस

दमौली, १९ भदौ : तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ । क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको हो ।

क्याम्पसको सोमबार आयोजित ३७औँ वार्षिकोत्सवका अवसरमा उक्त गाउँसँग मितेरी गाउँका रूपमा सम्झौता गरी प्रमाणपत्र हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापा, दुबुङ टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापा र आमा समूहकी अध्यक्ष भीमकुमारी थापालाई उक्त प्रमाणपत्र प्रदान गर्नुभयो ।

क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला, संस्कृति र खाद्यवस्तुको संरक्षणमा पनि जोड दिँदै आएको छ । मितेरी गाउँ छनोट उपसमितिका संयोजक हरिसिंह गुरुङले क्याम्पसको छविलाई अझ विश्वसनीय बनाउँदै गाउँलाई एक आकर्षक एवं सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेकोे जानकारी दिनुभयो ।

सोही अवधारणाअनुसार जिल्लाभरिका २५ विभिन्न गाउँ प्रस्तावित भएकामध्ये ऋषिङ–३ दुबुङ, भानु नगरपालिका–१३ टुटेपानी र व्यास नगरपालिका–१४ रुम्सी स्थलगत अध्ययनका लागि छानिएका थिए । त्यसमध्ये ती गाउँका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारलाई मुख्य मानकका रूपमा निर्धारण गरी दुबुङलाई छनोट गरिएको उहाँको भनाइ छ ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान, २०४९ (संशोधित २०७९) लाई आधार मानी आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ छनोट गरेको बताइएको छ ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विसं २०४३ मा स्थापित क्याम्पसले गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको जानकारी दिनुभयो ।

गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधार, स्थानीय निकायको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा मितेरी गाउँ छनोट गरिएको उहाँको भनाइ छ ।

मितेरी गाउँ छनोट भएको गाउँमा दिगो पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी काम गरिनेछन् । उक्त गाउँमा जीवन्त पुख्र्यौली पेसा र सीपको संरक्षण साथै अतिथि सत्कार तथा खाना बनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ प्रदर्शनका सीप, जलविहार गाइड, फोहर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक सचेतना, एचआइभी एड्स, गोबरग्यास तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाका आधारभूत स्वास्थ्य समस्या समाधानको क्षेत्रमा सहकार्य गरिने जनाइएको छ ।

त्यस्तै पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवर्द्धन, वातावरणीय सचेतना, साधारण अङ्ग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्बन्धी अन्तक्र्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय र सहकार्य हुनेछ ।

त्यसैगरी मितेरी गाउँको विषयगत ‘प्रोफाइल’ निर्माण, पर्यटन सेवाको विविधिकरण, सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध मिलाइने छ । साथै कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्ग, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर सुनिश्चिता गरिने छ । पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्बन्धित पक्षसमक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने जनाइएकोछ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।