पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

मनाङ, ३१ भदौ ः नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् ।

विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन ।

बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन् । विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन् । विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “याम सुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ ।” अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उहाँले बताउनुभयो । मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताउनुभयो । मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ ।

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन् ।” याम सुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उहाँले बताउनुभयो ।

दैनिक रुपमा यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले दैनिक रुपमा मनाङमा पर्यटक आउने क्रम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ दैनिक रुपमा ७० भन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । उहाँले भन्नुभयो, “विस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटल पूर्ण रुपमा भरिभराउ हुने गर्दछन् ।”

दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै यात्राको सुरुआत गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।