ओझेलमा पर्दै तिजको मौलिकता

भेषराज बस्नेत/राँझा (बाँके), १ असोज : हिन्दू नारीहरूको तिज पर्वमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ । तिज आउनु अगावै सहरमा दैनिकजसो आयोजना गरिने तिज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन् ।

पछिल्ला वर्षमा तिज पर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित सिर्जनशील आमा समूहकी अध्यक्ष उषा थापा बताउनुहुन्छ । “सहर बजारमा हुने तिज प्रतियोगितामा पनि कुनै मौलिकता छैन, डेक बजाएर नाच गान हुन्छ”, उहाँ भन्नुहुन्छ, “आधुनिकतासँगै तिज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ ।”

पछिल्ला वर्ष बजारमा दर्जनौँ सङ्ख्यामा एल्बम सार्वजनिक भएपनि तिजको मर्म बोकेका भाका पाउन भने मुस्किल छ । तिजको मौलिकता झल्किने संस्कृति हराएकामा उहाँ चिन्तित हुनुहुन्छ । बाँकेमा अहिले दिनहुँजसो तिज पर्वको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोकगायक कमल बिके निर्मोहीले बताउनुभयो ।

अहिले विभिन्न सङ्घसंस्था र महिला दिदीबहिनीले होटल होटलमा आयोजना गर्ने दर खाने कार्यक्रमले तिज पर्व आधुनिक तथा औपचारिकतामा सीमित हुन पुगेको उहाँको भनाइ छ । “पर्वलाई संरक्षण गर्नु र पुस्तौँसम्म जोगाई राख्नु हाम्रो कर्तव्य हो । पर्वको अस्तित्व नै समाप्त हुने शैली अवलम्बन गर्दा भविष्यमा तिजको धार्मिक, सांस्कृति मान्यतामा कस्तो प्रभाव पर्ला सोच्ने बेला आएको छ”,उहाँले भन्नुभयो, “नेपाली हिन्दू महिलाले मनाउने पवित्र चाडमा यसरी नै विकृति बढ्ने हो भने भावी पुस्ताले तिज कसरी मनाउला ?”

महिला नेतृ शान्ति ढकालले अहिलेका तिज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको आरोप लगाउनुहुन्छ । “पहिला तिजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ”, ढकालले भन्नुभयो, “तिजको संस्कृतिसँगै मादल हरायो, मादल बज्दैन डेक लगाएर नाच्ने चलन बढ्यो ।”

आधुनिकताका नाममा महङ्गा होटलमा दर खाएर, डेकको तालमा नाचेर तिजको संस्कृति नजोगिने उहाँ बताउनुहुन्छ । महिलालाई हक, अधिकारसँगै कत्र्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउन जरुरी रहेको ढकालको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी संयोजक महिला विकास अधिकृत शोभा शाहले तिज पर्वमा आधुनिकतासँगै परिवर्तन आएको बताउनुहुन्छ । “तिज पर्वले महिला दिदीवहिनीलाई भेटघाट गर्ने अवसर दिन्छ, परापूर्वकालदेखि यो पर्वलाई महिलाले दुःख बिसाउने पर्वका रुपमा माइत जाने मीठो खाने चलन हो”, उहाँले भन्नुभयो, “अहिले परिवेश फेरिएको छ, माइतीले मात्रै दर खुवाउनु पर्दैन, महिला सक्षम र स्वतन्त्र पनि भएका छन् ।” उहाँ स्वतन्त्रताको उपयोगका नाममा नाँच्ने र दर खाने मात्रै नभएर तिज पर्वलाई एउटा सन्दर्भ मात्र बनाई महिला सचेतनाको वकालत पनि गर्न सके राम्रो हुने बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका उपप्राध्यापक डा. राजकुमार सुवेदीले तिज पर्वमा विकृति भित्रिएको बताउनुहुन्छ । “हरितालिका तिजमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाइयोस् भनेर व्रत बस्ने हो । व्रतको लागि तिजको अघिल्लो दिन मीठा शुद्ध खानु पर्ने हुन्छ, त्यो मात्रै दर हो, अशुद्ध खाना दर होइन”, उहाँ भन्नुहुन्छ, “तिजका नाममा महिनाभरि अशुद्ध खाना खानु दर होइन, यो राम्रो होइन सुधार्न जरुरी छ ।”

मीठा शुद्ध शाकाहारी खानालाई मात्रै तिजको दर भनिने भए पनि अहिले दरलाई अशुद्ध खानासँग जोडेर विकृति आएको डा. सुवेदीको भनाइ छ । तिजमा निरहार बसिएको व्रत साँझपख आरतीको समयमा पूजा गरेर मात्रै समापन गर्नुपर्नेमा हिजोआज मध्याह्न १२ बजे नै सक्ने परम्परा पनि गलत भएको उहाँले बताउनुहुन्छ । “तिजको विधिवत पूजा हुनै छोड्यो, औपचारिकता मात्रै गर्ने गरगहना प्रदर्शन गर्ने कुराले तिज पर्वको महत्व पनि घटको छ”, उहाँ भन्नुहुन्छ । डा. सुवेदीले तिजमा खाइने दर, लगाइने वस्त्र, गरगहना, तिज गीतहरुको हिन्दू नारीहरुको जीवनमा विशेष महत्व रहेको बताउनुहुन्छ ।

“सहर बजारमा आजभोलि महिना दिनअघिदेखि नै विभिन्न कार्यक्रममा भड्किला गीतसहितका दर खाने कार्यक्रम आयोजना भैरहेको छ”,उपप्राध्यापक डा. सुवेदीले भन्नुभयो, “टोल छिमेकका दिदीबहिनी जम्मा भई नाचगान गर्नु खानपिन गर्नु, एक अर्काका भावना आदानप्रदान गर्नु नकारात्मक होइन, तर संस्कृतिलाई नै विकृत पार्ने गतिविधिलाई प्रोत्साहन गर्नु भने गलत हो ।”

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्राध्यापक सावित्री बस्नेतले तिजमा आएको आधुनिकता र देखासिकीले तिज पर्व दशैँ तिहारभन्दा पनि मङ्हगो हुन पुगेको बताउनुहुन्छ । “समय अनुरुप कतिपय कुरालाई परिमार्जित गर्दै लैजानुपर्छ । तिजमा गाइने गीत र दर खाने चलनमा आएको परिवर्तन तर संस्कृतिलाई अपव्याख्या गर्ने गरी भड्किला गतिविधिलाई परिवर्तनको नाम दिन मिल्दैन” उहाँले भन्नुभयो, “आधुनिकताको नाममा हाम्रो मौलिक पहिचानको तिज पर्वलाई भड्किलो बनाउने गरिएको छ ।”

तिजमा देखिएका विकृतिलाई निरुत्साहित गर्दै धर्म, संस्कृतिको मौलिकता कायम राख्दै मनाउन आवश्यक भएको उहाँको भनाई छ । “तिजका नकारात्मक पक्षलाई मात्र केलाउन भन्दा सकारात्मक पक्षका बारेमा नजानेकालाई बुझाउन आवश्यक देखिन्छ”, उहाँले भन्नुहुन्छ, “तिजलाई आ–आफ्नो क्षमता अनुसार मनाऔँ ।”

बाइस वर्षदेखि तिज महोत्सव

बाँकेको खजुरामा तिजको मौलिकता बचाउन १८ वर्षदेखि नियमित रुपमा तिज महोत्सव हुँदै आएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा खजुरामा यसवर्ष १८ औ श्रृङ्खलाको तयारी गरिएको छ । २२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तिज महोत्सवको निरन्तरताका रुपमा यसवर्ष पनि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो ।

“तिज महोत्सव खजुराको एउटा गहना बनिसकेको छ”, उहाँले भन्नुभयो, “बाँके र बर्दियाका अवलोकनकर्ता तथा ब्रतालु दिदीबहिनीको खजुरामा पूजा गर्न आउने र तिज गीतमा रमाउने परम्परा जस्तै बनेको छ ।”

मौलिक शैलीमा आफैँ मादल बजाएर तिजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । समूहगत र एकल तिज र नृत्यको प्रतियोगिता रहेको महोत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुको भेला हुने उहाँको दाबी छ ।

खजुरा क्षेत्र संरक्षण समितिका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले पाँच दशकदेखि खजुरको लक्ष्मीनारायण मन्दिर परिसरमा स्वतःभेला हुने र तिजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले व्यवस्थापन मात्र गरेको बताउनुहुन्छ । तिजको दिन स्वतःखजुरामा हजारौंको सङ्ख्यामा दिदीबहिनीको जमघट हुने गरेको बताउँदै उहाँले यस वर्ष खजुराको वारि र पारि दुवै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने बताउनुहुन्छ ।

द्वन्द्वकालदेखि नै खजुराको एकता र सांस्कृतिक पहिचान जोगाउँदै आएको खजुरा क्षेत्र संरक्षण समितिले यस वर्ष पनि आफ्नो परम्परालाई कायम राख्दै बृहद् तिज महोत्सवको श्रृङ्खलालाई निरन्तरता दिने अध्यक्ष बुढाथोकीको भनाइ छ ।

उहाँका अनुसार महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफैँ मादल बजाएर मौलिक भाकामा प्रस्तुतीकरण हुने तिज गीत र तिजको एकल नृत्य प्रतियोगिता महोत्सवका आकर्षण हुनेछन् । खजुरा तिज महोत्सवमा सहभागी प्रतियोगीसहित मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकलाई समेत मूल्याङ्कन गरेर पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।