विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

भोजपुर, ९ असोज । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो ।

विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् ।

विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिनुभयो । विद्युत् विस्तारसँगै स–साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उहाँको भनाइ छ ।

“विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपिएको छ”, उहाँले भन्नुभयो, “विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्नलाई पाँच–छ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो । कहिले त दिन नै बित्थ्यो । विद्युत् विस्तार भएपछि टोल–टोलमा मिल सञ्चालन भइरहेका छन् ।”

विद्युत् विस्तार भएपछि विदेशबाट आएर मिल स्थापना गरेर व्यवसाय गर्दै आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय एकराज विष्टले बताउनुभयो । गाउँमा सञ्चालन गरिरहेको मिलमा कुटानी, पिसानीको काम गर्दै आएको उहाँको भनाइ छ । मिलबाट आफूसमेत स्वरोजगार बनेको उहाँले बताउनुभयो ।

“लामो समय विदेशमा बसेँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा फर्केर विद्युतीय मिल लगाएको छु । यसले स्थानीयलाई कुटानी–पिसानीका लागि सहजता छ । मिलबाट आफू स्वरोजगार बनेको छु । घर खर्च चलाउने आम्दानी पनि हुन्छ ।”

ठूलो भूगोलसँगै भौगोलिकरूपमा विकट रहेको यो गाउँपालिकाको सबै क्षेत्रमा तीन वर्षअघिबाट विद्युत् बलेको हो । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जनता विद्युत्को पहुँचमा छन् ।

यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् बलेको छ । जङ्गलको बीचमा रहेको यो बस्तीका मानिस नेट, इन्टरनेटमार्फत सूचनाको पहुँचमा रहेका छन् ।

वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकी सहज बनेको बताउनुभयो । “दुर्गम क्षेत्रमा पर्ने हाम्रो गाउँमा झलमल्ल विद्युत् बलेको छ”, उहाँले भन्नुभयो, “अहिले जीवनयापनका लागि सहज छ । अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीमा सूचनाको पहुँचसँगै जीवनयापनमा समेत परिवर्तन आएको स्थानीय नवीन राईले बताउनुभयो । विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको उहाँको भनाइ छ ।

“विद्युत् विकासको एउटा सूचक पनि हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रोजस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । हामीलाई सूचनाको पहुँचमा जोडिन सहज छ । बालबालिकाले विद्युत्को उज्यालोमा पठनपाठन गर्न पाएका छन् ।”

यो गाउँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ । “भौगोलिक हिसाबले यो निकै दुर्गम छ”, उहाँले भन्नुभयो, “हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । अहिले विकासको अनुभूति गर्न पाएका छौँ ।”

वर्षौँदेखि अँध्यारोमा बस्दै आएका वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरूले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेका छन् । विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको स्थानीय फुर्तेन्जी शेर्पाले बताउनुभयो ।

विद्युत् विस्तारको काम पूरा भएकाले अब यहाँको अन्य भौतिक विकासका क्षेत्रमा काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सडक विस्तारसँगै गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।

“हाम्रो गाउँपालिकामा पूर्णरूपमा विद्युतीकरण भइसकेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “हामीले अब यहाँका अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम गरिरहेका छौँ । टेम्केमैयुङलाई समृद्ध बनाउने हाम्रो लक्ष्य छ ।” टेम्केमैयुङलाई २०७७ सालको कात्तिक महिनामा उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।