पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी (नवलपरासी), १४ असोज : पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।

देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।

देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो । “विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमशः सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो”, उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्यरूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताउनुभयो ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो ।

कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुनसक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताउनुभयो ।

पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकासलगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।