८ कक्षामा पढ्ने प्रेमिका भेट्न जाँदा परिवारले हत्या गरी बोराभित्र खादेर पोखरीमा फालेपछि..

सप्तरी । प्रेमिकाकै कारण सप्तरीमा एक युवकले ज्यान गुमाएका छन् । केही दिनअघि आफूभन्दा निकै कान्छी प्रेमिका भेट्न भन्दै गएका १८ वर्षीय मोहम्मद अजिम मुद्दिन पोखरीमा बोराभित्र पोका पारेर फालिएको अवस्थामा भेटिएपछि घटना बाहिरिएको हो ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर- ११ बनौलीमा प्रहरीले पोखरीमा फेला पारेको शव अजिमको रहेको पुष्टि भएपछि अनुसन्धानको क्रममा प्रहरीले यस्तो तथ्य पत्ता लगाएको हो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोराभित्र फेला परेको शव अजिमकै रहेको परिवारका सदस्यले पुष्टि गरेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । अजिम स्थानीय मोहम्मद समिउल्लाका छोरा हुन् ।

प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । भदौ २१ गते दिउँसो कृष्ण अष्टमीको दिन गाउँमा लागेको मेला हेर्न अजिम घरबाट निस्केका थिए । साँझ ६ जना साथीसँगै मेला हेरेर रमाइलो गरे । साँझमा चार जना साथी घर फर्किए, अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे । अजिमले आफू प्रेमिका भेटेर आउने भन्दै ती साथीलाई घर फर्किन आग्रह गरेका थिए ।

त्यसै बेलादेखि अजिम बेपत्ता भएका थिए । परिवारका सदस्यले राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए । प्रहरीले लामो समयसम्म खोज्यो, तर फेला पार्न सकेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मेलाबाट अन्तिममा छुटेका साथीबाट पाएको सूचनाका आधारमा अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सुरुमा उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार खोजी गरेको थियो । त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिङ भेटियो । रिङ फेला परेपछि पोखरीको पानी घटाइयो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । भोलिपल्ट शनिबार बिहान रिङको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको हत्या गरेको घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्नको आरोमा स्थानीय बिना यादव, ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

‘हत्यामा संलग्नको आशंकामा पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । आज दिउँसो प्रेस रिलिज गरेर घटनाको विस्तृत जानकारी दिन्छौं’, डीएसपी न्यौपानेले भने । पक्राउ परेका रामप्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीर बन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

हत्या भएका अजिमले गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीबाट एसईई दिएका थिए । उनी त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि प्रेममा रहेका थिए ।-उपहार न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।