आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बलेवा (बागलुङ), १७ असोज : प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।

छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन् । समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो । बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ ।

पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैँले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् ।

“किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्”, कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयो, “बाँकोबाट राम्रो आम्दानी हुन्छ ।” यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उहाँले बताउनुभयो ।

छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताउनुभयो । उहाँका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन् ।

“नजिकको जङ्गल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ”, छन्त्यालले भन्नुभयो, “समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।”

उहाँका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले बताउनुभयो । सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उहाँको भनाइ थियो ।

“दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन् । यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ ।” एक प्याकेटको मूल्य रू तीन सय कायम गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्षभन्दा प्रति एक सय ग्राममा रू ५० मूल्य कम गरिएको उहाँले बताउनुभयो ।

“जेठ/असारमा जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ”, छन्त्यालले भन्नुभयो, “यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ ।”
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।