‘खोल्सीको सुन’ भनेर चिनिएको अलैँची खेती र व्यापार सङ्कटमा पर्दै गएको गुनासो

झापा : ‘खोल्सीको सुन’ भनेर चिनिएको अलैँचीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भए पनि विभिन्न समस्याले नेपालमा यसको खेती तथा व्यापार सङ्कटमा पर्दै गएको व्यवसायीले गुनासो गरेका छन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घले आज झापाको विर्तामोडमा आयोजना गरेको छलफलमा अलैँची व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । महासङ्घले अलैँची व्यवसायसँग सम्बन्धित गुनासो र माग समेटिएको ज्ञापनपत्र सङ्घीय सरकारका कृषि तथा पशुपन्छी मन्त्रालयकी सहसचिव सबनम शिवाकोटीलाई बुझाएको छ ।

वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको अलैँचीको निर्यात व्यापार खस्किन नदिन यसको खेती, प्रशोधन र बजारमा सरकारले बेलैमा ध्यान दिनुपर्ने मागसहित महासङ्घले १४ बुँदे ज्ञापनपत्रमा बुझाएको हो ।

पछिल्लो समय नेपाली अलैँचीको उत्पादन घटेको र बजार मूल्यमा गिरावट आइरहेको जनाउँदै नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले अलैँची खेती तथा व्यवसायमा रहेका समस्याको हल गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

“अलैँचीमा लागेको रोग नियन्त्रण हुन नसक्नु, समयमा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु र सिँचाइ सुविधाको अभाव हुनु नै उत्पादन बढ्न नसक्नुको मुख्य कारण हो”, अध्यक्ष भट्टराईले भन्नुभयो, “उत्पादनदेखि बजारसम्म देखिएका समस्या समाधानका लागि एउटा मात्र निकाय लागेर नपुग्ने अवस्था आएको छ ।”

अलैँचीका समस्या सम्बोधन गर्न स्थानीय, प्रदेश र सङ्घीय तीनै तहमा अलैँचीसम्बन्धी कुनै पनि नीति र कानुन नबनेको अध्यक्ष भट्टराईको गुनासो थियो । अलैँचीको भण्डारण गर्ने गोदाम घर निर्माण गर्ने, अलैँचीको महोत्सव सञ्चालन गर्ने, अलैँचीको बजारीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाउन महासङ्घले ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरेको छ ।

मन्त्रालयकी सहसचिव शिवाकोटीले अलैँची किसान तथा व्यवसायीले उठाएका माग र समस्याको समाधान गर्न मन्त्रालयले सम्बद्ध निकायमा छलफल चलाउने आश्वासन दिनुभएको छ । “निर्यात व्यापारमा प्रमुख हिस्सा ओगटेको नेपाली अलैँचीको खेती र व्यवसायमा उत्पन्न समस्या धेरै रहेछन्”, उहाँले भन्नुभयो, “नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको उत्पादन र व्यापार प्रवद्र्धनमा खेलेको भूमिका सराहनीय छ । कसरी समस्याको हल गरेर अन्तर्राष्ट्रिय बजारमा हाम्रो मुलुकको अलैँचीलाई उच्च गुणस्तरयुक्त रुपमा पहिचान दिन सकिन्छ भनेर सरकारले पहल गर्नेछ ।”

नेपालको अलैँची गुणस्तर र उत्पादनका दृष्टिले विश्व बजारमा पहिलो मानिँदै आएको भए पनि भारतीय बजारको विकल्प खोज्न नसक्दा व्यवसायी जहिल्यै सकसमा पर्ने गरेको अलैँची निर्यातकर्ता ओमकृष्ण बिमलीले बताउनुभयो । अलैँची उत्पादकदेखि निर्यातकर्तासम्मका समस्यालाई सम्बोधन गर्न अलैँचीको तेस्रो बजार खोज्न ढिला भइरहेको उहाँको धारणा थियो ।

कृषकमा प्राविधिक ज्ञानको कमी, अलैँची सुकाउने आधुनिक भट्टीको अभाव, सिँचाइको अभाव, मल–बीउको अभाव, जिल्ला तथा केन्द्र तहमा अलैँचीको गोदामघर अभाव, गैरकानुनी तथा दोहोरो कर सङ्कलन, मूल्यको उतार–चढाव, पछिल्लो समयमा भारत तथा भुटानमा तीव्ररूपमा अलैँची खेती विस्तार हुनु, विश्व बजारमा नेपाली अलैँचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा मात्र निर्भर रहनु मुख्य चुनौती भएको महासङ्घका महासचिव नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

अलैँचीको बजार विस्तारका लागि स्वदेशमै यसको खपत बढाउने अभियान सञ्चालन गर्नुपर्ने महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जोड दिनुभयो । ढुङ्गानाका अनुसार हाल नेपालको ५२ वटा जिल्लामा १७ हजार हेक्टर जमिनमा अलैँची खेती विस्तार भइसकेको छ । अलैँची खेतीबाट वार्षिक आठ हजार मेट्रिक टनभन्दा बढी तयारी अलैँची उत्पादन हुने र त्यसमध्ये पाँच प्रतिशत नेपालमा खपत हुने र बाँकी भारत तथा तेस्रो मुलुकमा निर्यात भई वार्षिक रु १० अर्ब विदेशी मुद्रा आर्जन हुँदै आएको छ ।–

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।