व्यवस्थित गरिँदै पोखरा बसपार्क

कास्की । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्याइएको जमिनमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् । बसपार्कको जमिन लामो समयदेखि अव्यवस्थित रहेकामा पोखरा महानगरपालिकाले पछिल्लो समय यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षदेखि बसपार्क व्यवस्थित बनाउन अघि बढेको हो ।

सधैँ हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्टस्का पसल हटाइएका छन् ।

बसपार्कलाई तत्काल अल्पकालीन र विस्तारै दिगोरूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताए ।

उनका अनुसार बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा साउन पहिलो सातादेखि सबै बसले आफ्नो सेवा बसपार्कबाटै दिने गरी व्यवस्था गरिएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । तिमिल्सिनाले भने, “पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई विस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पूरै जमिनमा बसपार्क बनाउनु पर्दछ ।”

बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उनले बताए । यसको व्यवस्थापनमा कयौँ चुनौती रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उनले बताए ।

नगरप्रमुख धनराज आचार्यले पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माणको योजना रहेको बताए । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुट्याइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उनले बताए ।

मुलुककै दोस्रो ठूलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठूला गरी दैनिक हजारौँ सवारीसाधान देशभरिका लागि छुट्ने गर्दछन् । महानगरले बसपार्क अगाडिको सडकमा पार्किङसमेत अहिले निषेध गरेको छ ।

यसअघि लामो तथा छोटो दूरीका बस सडकमै पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सौन्दर्यमाथि प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।