लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

अच्युत रेग्मी/काठमाडौँ, २२ असोज ः शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ ।

विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउनुहुन्छ ।

“अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ”, थापा भन्नुहुन्छ ।

ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ । “पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटकहरु देखिन थालेका छन्”, उहाँ भन्नुहुन्छ । अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएको ठमेलका विग्रेका सडक मर्मत नहुँदा भने पर्यटकले सास्ती खेप्नुपरेको उहाँ बताउनुहुन्छ ।

लामो समयदेखि ठमेलमा कपडा व्यापार गर्दै आउनुभएका सीताराम रेग्मी ठमेलमा पर्यटकीय चहलपहल बढे पनि व्यापार भने नबढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “गत वर्षका तुलनामा यस वर्ष ठमेलमा कपडा व्यापार घटेको छ ।” पर्यटकको गतिविधि बढेसँगै ठमेलका होटलमा समेत विदेशी पाहुना भरिन थालेका छन् । ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउनुहुन्छ । विसं २०७६ सालबाट सञ्चालित उक्त होटलमा ९२ कोठा रहेका छन् ।

ठमेलस्थित काठमाडौँ एक होटलका सञ्चालक सहदेव धमला पछिल्लो समय छोटो समयका लागि पर्यटक ठमेल घुम्न आउँदा ठमेलभित्रका व्यवसायीको सोचेजस्तो व्यापार हुन नसकेको बताउनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहनुभएका धमला विदेशी पर्यटकलाई ठमेलमा कसरी लामो समय राख्न सकिन्छ भन्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको बताउनुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेकोे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ ।”

रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उहाँको भनाइ छ । परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारलाई व्यवस्थापन गर्नेदेखि सिसि क्यामरा जडान र खाल्डो परेका सडक पुर्नका लागि सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को नौ महिनामा छ लाख ९२ हजार तीन सय ७२ विदेशी पर्यटक नेपाल आएका छन् । जसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार छ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक आठ हजार एक सय ७४, अमेरिकी पर्यटक सात हजार तीन सय ६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसैगरी, बङ्गलादेशबाट तीन हजार सात सय १६, बेलायतबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११ जना, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउनुहुन्छ । “नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ”, उहाँ भन्नुहुन्छ ।

विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने डा रेग्मी बताउनुहुन्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ र सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।