इजरायल घटना : आनन्दको मृत्यु शोकमा सिङ्गो गाउँ

धनुषा, २३ असोज : “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो । मनभरी गाउँको विकासको ठूलो सपना बोकेर इजरायल पुग्नुभएका उहाँको यो सपना अब कहिल्यै पूरा हुने छैन ।

‘टु लर्न टु वर्क’ भिसा अन्तर्गत कृषि तालिमका लागि इजरायल जानु भएका उहाँले इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनुभयो । इजरायलमा मारिएका दश नेपालीमध्येका एक धनुषा सपहीका साहको मृत्युसँगै तीन बहिनी, बुबाआमा र हजुरआमासँगै सिङ्गो गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ ।

पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन भने आमा शुभकली साहको बोली बन्द भएको छ । लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकलीलाई गहिरो शोकमा डुबाएको छ । ७० वर्षीया हजुरआमा बसमतियादेवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडामा हुनुहुन्छ । कान्छी बहिनी आरतीलाई स्लाइन पानीसहित राखिएको छ ।

गाउँलेहरुले उनीहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन । गाउँका सबैजसोको आँखा रसाएको छ । बुबा सोमन होसमा आउने वित्तिकै छाती ठोक्दै विलाप गर्नुहुन्छ ।

इजरायल जानुअघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भन्नुभएको थियो । “म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्राउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,” हजुरआमा–नातिबीचको संवाद सुनेका काका मिथिलेशले भन्नुभयो ।

कक्षा ५ सम्म लक्ष्मीनिया गाउँपालिकास्थित स्थानीय अक्सफोर्ड अङ्ग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधैँ प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एसएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले पूर्णछात्रवृत्तिमा बिएससीएजी पढेका थिए । बिएससीएजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनले इजरायल जाने निधो भयो ।

घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए । अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उहाँले उही कुरा दोहो¥याउँदै भनेका थिए, “पीर नगर्नु आमा, म चाँडै आउँछु ।”

लक्ष्मीनिया गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार दुई दिनअघि शुक्रबार आनन्दसँग उहाँका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन आनन्दको आमाबुवासँग कुरा हुन पाएन । साहले भन्नुभयो, “शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ तर आइतबारसम्म पनि फोन उठेन ।”

शनिबार इजरायलमाथि हमासको हमलाको खबर आयो । लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो । इजरायलमा हमला भएको दिन शनिबार नै आनन्दका दिदीले फोन गर्नुभएको थियो । तर, फोनको घण्टी बजे पनि उठेन । पटक–पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो । छटपटी झनै बढ्यो । आइतबार पनि उहाँको फोनमा घण्टी जाने तर फोन उठेन । आइतबार साँझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गर्नुभयो ।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौँ नम्बरमा थियो । मृतकको सूची हेर्ने वित्तिकै परिवारमा रुवाबासी चल्यो । बुवाआमासँगै सारा परिवार अझै अर्धचेत अवस्थामा हुनुहुन्छ ।

आनन्दको मृत्युको खबरले उहाँको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ । “कमाउने बेलाको छोरा बित्यो, यहाँभन्दा बढी पीडा के हुन्छ ?”, बुवा सोमन साहले भन्नुभयो, “अब राज्यले छिटोभन्दा छिटो शव ल्याइदिओस भन्ने भन्ने कामना छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।