दृश्यावलोकन सँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा

वासुदेव पौडेल / गण्डकी, २६ असोज : स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भंैसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो ।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०को लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा र महत्व अझै चुलिएको छ । प्रकृतिको वरदान पाउको भैंसेगौँडा यहाँका प्राचीन मौलिक संस्कृतिले पनि उत्तिकै सम्पन्न रहेको स्थानीय समाजसेवी मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउनुहुन्छ ।

प्राकृतिक सम्पन्नताकै कारण पछिल्लो समयमा यो ठाउँ वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्रका रुपमा समेत विकास हुँदै गएको उहाँले बताउनुभयो । यहाँका प्राकृतिक विधिताकै कारण प्रकृतिका साथीहरू नामक संस्थाले विभिन्न छवटा शृङ्खलामा यसै ठाउँमा वन्यजन्तु अनुसन्धान विधि तालिम सञ्चालन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा भेटिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार यस क्षेत्रमा ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् ।

“वनस्पति र वन्यजन्तुको अध्ययन एवम् अनुसन्धानका लागि भैसेंगौँडा अत्यन्त उपयुक्त स्थल हो”, उहाँले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुरदेखि नेपालमा मात्रै पाइने चमेराका प्रजाति पनि यही ठाउँमा भेटिएका छन् ।” प्राकृतिक रुपमा भैसेंगौँडा आफैँमा सम्पन्न क्षेत्र भएकाले प्रकृतिका साथीहरूको रोजाइमा यो ठाउँ परेको बताउँदै उहाँले यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । प्रकृतिका साथीहरूको छैटौँ चरणका वन्यजन्तु अनुसन्धान तालिमका साथै उक्त संस्थाका माध्यमबाट यो ठाउँ वनस्पति एवम् वन्यजन्तु अनुसन्धान तालिमका लागि उपयुक्त ठहरिनुलाई आफूहरूले यसलाई महत्वका साथ हेरेको होमस्टेका अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

प्रकृति र संस्कृतिले सम्पन्न भैंसेगौँडालाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा समेत स्थापित गर्ने आफूहरूको लक्ष्य रहेको जनाउँदै उहाँले यसको सम्भावना र महत्वलाई पनि प्रवद्र्धन गरिने बताउनुभयो । “प्रकृतिका साथीहरू संस्थाले अनुसन्धान विधि तालिमका क्रममा फेला परेका चरा, स्तनधारी प्राणी एवम् पुतली लगायतका प्रजातिको विवरण समेटेर हामी चाँडै नै पुस्तक प्रकाशन गर्ने सोचमा छौँ”, उहाँले भन्नुभयो, “यहाँको महत्वलाई उजागर गर्ने गरी वनस्पति एवम् वन्यजन्तुको अध्ययन अनुसन्धानका लागि यो ठाउँलाई खुल्ला विश्वविद्यालयका रुपमा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

यहाँ आउन चाहने पर्यटक एवम् वन्यजन्तु तथा वनस्पतिको अध्ययन गर्ने अध्येता जो कोहीलाई बस्नखानका लागि मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेले सेवा प्रवाह गर्दै आएको जनाउँदै उहाँले समयमा ठाउँठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गरेको जानकारी दिनुभयो । होमस्टेमा दैनिक २० जनासम्म पर्यटकलाई राख्न सकिने व्यवस्था छ ।

नेपालमा मात्रै पाइने काँडे भ्याकुरका साथै चीन, मङ्गोलिया लगायतका स्थानबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागिसमेत यो महत्वपूर्ण गन्तव्य रहेको पोखरा पछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । हिउँदको समयमा भैंसेगौँडा र आसपासका विभिन्न स्थानमा ठूलै सङ्ख्यामा हिमाली चराहरूसमेत देख्न सकिने उहाँले बताउनुभयो ।

तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहस्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउनुहुन्छ । पछिल्लो नक्साङ्कनबाट सहस्राब्दी पदमार्गलाई पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनले पनि पर्यटकहरू लोभिने गरेको उहाँले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।